रौतहट, बैशाख ३ः रौतहटको गढीमाई नगरपालिकामा जग्गाको विषयमा बिवाद हुदा गोली लागेर एक जनाको मृत्यु भएको छ । गोली लागेर गढीमाई नगरपालिका वाड नं. ८ निवासी राजकुमार राय यादवको मृत्यु भएको हो । शनिबार गढीमाई नगरपालिका वाड नं. ८ धोबिनियामा जग्गासम्बन्धी विवादका क्रममा दुई पक्षबीच झडप हुँदा गोली चलेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख उपरीक्षक वीरबहादुर बुढामगरले जानकारी दिए ।
विवादका क्रममा गोली लागेका उनलाई उपचारका लागि वीरगञ्ज पठाइएकामा बाटोमै मृत्यु भएको एसपी बुढामगरले बताए । गोली कसले चलायो भन्ने खुलेको छैन । गढीमाई नगरपालिकाले निर्माण गरिरहेको बाटोका विषयमा विवाद हुँदा १२ बोरको बन्दुकबाट गोली प्रहार भएको प्रहरीको भनाइ छ । गोली लागेर स्थानीय रामप्रताप यादव, कपिलदेव राय यादव र निरञ्जन यादव घाइते भएका छन् ।
प्रहरीले घटनामा संलग्न रहेको आशंकामा ५ जनालाई नियन्त्रणमा लिएको एसपी बुढामगरले बताए । घटनामा प्रयोग भएको १२ बोरको हतियार प्रहरीले बरामद गरेको र घटनाको थप अनुसन्धान भइरहेको उनले जानकरी दिएका छन । राजधानी दैनिकबाट