जंगलमा भविष्य खोज्दै पूर्व लाहुरे, फलाए वनभरी अलैंची

| 2018 Oct 16 | 11:39 am 2600

कुश्मा, असोज ३०: आफ्नो ऊर्जाशील समय पल्टनमा बिताएका लाहुरेले खेर गइरहेको वनमा पनि पसिना बगाउन थालेका छन्। जिल्लाको महाशिला गाउँपालिका–२ भोक्सिङमा जङ्गलभित्रको उपयोगविहीन वन क्षेत्रमा उनीहरुले लटरम्म अलैँची फलाएर सबैसामु उदाहरण प्रस्तुत गरेका हुन् । स्थानीय २५ जनाको समूहले लोसे पाखाको उत्तिसको जङ्गलमा ४ वर्षअघि अलैँची खेती गर्दै आएका छन् ।

प्राविधिकको सल्लाहबमोजिम पहिलो पटक कास्कीको ल्वाङ घलेलबाट ९० हजार अलैँचीका विरुवा ल्याएर रोपिएको थियो । रोपिएको एक वर्षमै अपेक्षाभन्दा निकै राम्रा बोट भएपछि उनीहरूले दोस्रो वर्ष पनि करीब ५० हजार बिरुवा थपे। अहिले स्थानीय ५ र ६ वडाका करीब ४० परिवारको ४०० रोपनी आवादी जङ्गलमा पनि अलैँची रोप्नु भएका लाहुरेले आगामी वर्ष नजिकैको सामुदायिक वनमा पनि यसलाई विस्तार गर्ने योजनामा छन्।

अलैँचीले गतवर्षबाट फल दिन शुरु गरिसकेको छ । अलैँची खेतीमा २५ जनाले समान लगानी गरेकामा १५ जनाभन्दा बढी पूर्व लाहुरे छन्। भौगोलिक हिसावले दूर्गम भएकाले रोजगारी र आम्दानीको खोजीमा बसाइँसराई र युवा पलायन बढेपछि पोखरा, चितवन, काठमाडौँलगायतमा बस्दै आएका पूर्वलाहुरेहरु गाउँमा फर्केर अलैँची खेतीमा सम्लग्न छन् । अलैँची खेती शुरु गरेपछि अहिले ५० भन्दा बढी युवाले रोजगारी पाएका छन् । अलैँचीमा मात्रै रु दुई करोड भन्दा बढी लगानी भइसकेको छ।

भौगोलिक हिसावले रामशाही र गोलशाही जातको अलैँची राम्रो फस्टाउने जमिन यहाँ छ । अलैँची फस्टाएपछि हौंसिएका स्थानीयले यो वर्षबाट नजिकैको सामुदायिक वनको गैरकाष्ठ झाडी फाँड्न शुरु गरेका छन् ।समुन्द्री सतहबाट १५ सय देखि १८ सय मिटर उचाइसम्म फैलिएको जमिनमा उत्तिसको जङ्गलको छाया र कालो माटो भएकाले अलँचीका लागि उपयुक्त भएको कृषि प्राविधिकको राय छ ।

“त्यहाँको भूगोल र माटो अलैँचीका लागि अति उपयोगी छ’, वरिष्ठ कृषि विकास अधिकृत वासुदेब रेग्मीले भने, अब त्यो क्षेत्रलाई अलैँचीको पकेटक्षेत्र घोषणा गरेर जङ्गलभरी अलैँची विस्तार गर्ने सोचमा छौं ।”

“अबको तीन वर्षमा हामीले अपेक्षा गरेको आम्दानी लिन सक्छौं” अलैँची खेती गर्दै आउनुभएका नारायण गुरुङले भने, “सबै जमिनमा रोप्न सके रु दुई अर्बको अलैँची निर्यात गर्न सकिन्छ । अलैँची विशेष गरी मसला र उच्च गुणस्तरको मदिरा उत्पादनका लागि भारत, चीन, श्रीलङ्कालगायतका मुलुकमा निर्यात हुने गरेको छ ।

अलैँची व्यवसाय विस्तार गर्न चाहेमा अझै १५ सय रोपनीभन्दा बढी जमिन छ । केही वर्ष अघिदेखि पर्वतमा विभिन्न कृषिसँग सम्बन्धित पेशामा स्थानीयबासीले रुची देखाउन थालेका छन् । विदेश गएर फर्केका युवाहरु, सेवानिवृत्त भएका लाहुरे तथा शिक्षक, कर्मचारी, उच्च शिक्षा हासिल गरेका युवायुवतीसमेत व्यवसायिक कृषिमा आकर्षित हुँदै जान थालेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.