छलफल गरेरमात्रै गुठी विधेयक ल्याइने

रिपोर्ट नेपाल | 2020 Jan 08 | 08:50 am 2178

काठमाडौं, पुस २३ः सरकारले सरोकारवालाहरूसंग प्रशस्त छलफल गरेरमात्रै गुठी विधेयक पुनः ल्याउने भएको छ। विगतको अनुभवको समिक्षा गर्दै यसका लागि सरोकारवालाहरूको राय–सुझाव लिने कार्यलाई तीब्रता दिएको छ।

यसअघि प्रस्तुत उक्त विधेयकविरुद्ध आन्दोलन चर्किएपछि फिर्ता लिनुपरेको अवस्थालाई ख्याल गरी सरोकारवालाहरूसंग चरणबद्ध छलफल गराइएको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले जनाएको छ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले उक्त विधेयक सरोकारवालाको सहमतिबाट ल्याउन छलफल चलाइएको बताए।

उक्त छलफलमा विशेषतः काठमाडौंबाट प्रतिनिधित्व गर्ने संघीय र प्रदेशसभा सांसद्, काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यसहित राजनीतिक दलका नेताहरूहरूले सहजीकरणको भूमिका निर्वाह गरिरहेका छन् ।

हिजो नमिलेको के के हो ? अहिलेको गुठीको अवस्था, समस्या र आवश्यकता के छ ? भन्ने जस्ता विषयलाई ठम्याएर अघि बढ्नुपर्ने विचार राख्दै मेयर शाक्यले भने–काठमाडौं उपत्यकाको गुठीको प्रकृति र अन्य क्षेत्रको गुठी प्रकृतिको भिन्नता र आवश्यकता मध्यनजर गरी विधेयक ल्याउन जोड दिइरहेका छौं।

उनले काठमाडौं उपत्यकाको गुठीको प्रकृति र भूमिकाको विषयमा काठमाडौं उपत्यकाका संघीय र प्रदेश सांसद्हरू मिलेर मन्त्रालयलाई छुट्टै राय दिएको बताए।

यस्तै मन्त्रालयले अबको ल्याइने गुठीसम्बन्धी विधेयक ल्याउँदा काठमाडौं उपत्यका, तराई मधेश र अन्य क्षेत्रको गुठीको प्रकृतिलाई ख्याल गरिने जनाएको छ। नेपाल समाचारपत्रबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.