चोरीको तीन थान मोटरसाईकल सहित मानिस पक्राउ

| 2023 Sep 29 | 02:39 pm 1561

काठमाडाैं, असोज १२ । ललितपुर जिल्ला, बागमती गाँउपालिका वडा नं. ३ भट्टेडाँडा छपेलीस्थित कान्तिलोकपथ सडक खण्डमा प्रहरी चौकी भट्टेडाँडाबाट ड्यूटीमा खटिएका प्रहरी टोलीले शंकास्पद सवारी साधन चेकजाँच गर्ने क्रममा तीनवटा मोटरसाइकल सहित ४ जनालाई पक्राउ गरेको छ ।

उनीहरुले मोटरसाइकल बाटोमै छोडी जंगलको बाटो हुँदै प्युटारतर्फ भाग्दै गर्दा प्रहरीले नियन्त्रणमा लिएको हो । पक्राउ परेका व्यक्तिहरुलाई  सोधपुछ गर्दा उक्त मोटरसाईकलहरु प्रहरी बृत्त गौशाला ईलाकाबाट चोरी गरी लगेको खुल्न आएको छ ।

यसरी पक्राउ पर्नेमा सर्लाही, बागमती न.पा. वडा नं. ५ वतन बताउने वर्ष २४ को अजय मोक्तान,  सर्लाही, हरिवन न.पा. वडा नं. १० वतन बताउने वर्ष ३१ को ध्रुव प्रसाईं, सर्लाही, बागमती न.पा. वडा नं. ३ वतन बताउने वर्ष २७ को सुदिप स्याङ्तान, सर्लाही, मलंगवा न.पा. वडा नं. १ वतन बताउने वर्ष १९ को सुमित कुमार यादव रहेका छन् ।

उनीहरुले गाैशाला इलाकाबाट चोरी गरेको मोटरसाइकलहरु कालो रातो रंगको बा.प्र.-०२-३० प ८६२९ नम्बरको १५० सि.सि. को पल्सर मोटरसाइकल,  कालो निलो रंगको परिवर्तित नम्बर प्लेट बा.प्र.-०२-०२८ प. ०४०२ र वास्तविक नम्बर प्लेट बा.प्र.-०२-०४१ प ४७२३ रहेको २२० सि.सि. को पल्सर,  कालो रातो रंगको लु ९५ प २४८७ नम्बरको २२० सि.सि. को पल्सर मोटरसाइकल प्रहरीले बरामद गरेको हो ।

तिनवटै मोटरसाईकल बरामद गरी पक्राउ परेका मानिससहित थप अनुसन्धानको लागि प्रहरी वृत्त गौशाला, काठमाडाैं पठाएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता एवं सुचना अधिकारी प्रहरी उपरीक्षक नवराज कार्कीले जनाएका छन्  ।

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.