तनहुँ, असोज २६ः विभिन्न अपराध एवं मुद्दाहरुमा संलग्न रही फरार रहेका तथा सम्मानित अदालतबाट फैसला भई दण्ड, जरिवाना, दसौदी, कोर्ट फि र सरकारी बिगो समेत तिर्न बाँकी भएका व्यक्तिहरुको खोजी गर्ने कार्य तिब्रता दिदै आएकोमा चोरी मुद्दाका एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा तनहुँ साबिक मनपाङ गाविस ८ हाल म्याग्दे गाउँपालिका ७ का पूर्ण बहादुर बिक रहेका छन् ।
उनले कास्की पोखरा महानगरपालिका अन्तर्गत बिरौटाका दुर्गानाथ रेग्मीको घरमा २०७३ कात्तिक ६ गते राती दशै पर्वको समयममा घरमा कोही नभएको मौका पारी घरभित्र छिरी बिभिन्न जिन्सी तथा नगद रकम चोरी गरी फरार रहेका थिए ।
उनी उपर कास्की जिल्ला अदालतको मिति २०७४ जेठ २८ गतेको फैसलाले १२ लाख ४ हजार ८ सय ७७ रुपैयां जरिवाना हुने गरी सजाय सुनाएकोमा उक्त फैसला बमोजिम तोकिएको जरिवाना भुक्तान नगरी हालसम्म फरार रहेका बिकको खोजतलास गर्ने क्रममा २०७७ असोज २५ गते घरबाटै पक्राउ गरी सम्मानित तनहुँ जिल्ला अदालत समक्ष उपस्थित गराइएको तनहुँ प्रहरीले जनाएको छ ।