चुनाव खर्च बुझाउन अटेर, स्पष्टीकरण दिन भीड

| 2022 Aug 23 | 07:37 am 1389

सप्तरी, भदाै ७ः अटेर गरी निर्वाचन खर्च विवरण नबुझाउने उम्मेदवारहरू स्पष्टीकरण भने लाम लागेर बुझाउँदै छन्। खर्च नदेखाउनेलाई निर्वाचन आयोगले कारबाही प्रक्रिया थाल्दै साउन ३१ गते स्पष्टीकरण सोधेपछि जिल्ला र प्रदेश निर्वाचन कार्यालयमा भीड लागेको छ।

सप्तरीको कञ्चनरूपका मेयर ललनप्रसाद गुप्ता, डाक्नेश्वरीका मेयर रामलखन मुखिया, शम्भुनाथका मेयर जितेन्द्रप्रसाद गुप्ताले सोमबार स्पष्टीकरण बुझाएका छन्। सप्तकोसीका मेयर कृष्णप्रसाद ढकाल र रूपनीका अध्यक्ष दिनेशकुमार यादवले मंगलबार अन्तिम दिन जसरी पनि स्पष्टीकरण बुझाउने प्रतिबद्धता जनाएका छन्।

निर्वाचन अधिकारी रमेशकुमार जोशी बेलुका ७ बजेसम्म पनि  स्पष्टीकरणका पत्र मिलाउँदै थिए। ‘३ सय ७ जनाले बुझाए। खर्च विवरण बुझाउनेभन्दा स्पष्टीकरण बुझाउने बढी हुने देखियो’, जोशीले भने। जिल्ला निर्वाचन कार्यालय सप्तरीले भदौ १ गते सात दिनभित्र स्पष्टीकरण दिन पत्राचार गरेको थियो। कञ्चनरूप–६ का वडाध्यक्ष बच्चुलाल चौधरीले खर्च विवरण बुझाएको तर बिल भौचर संलग्न नभएका कारण निर्वाचन कार्यालयले नगरपालिका कार्यालयमा फिर्ता पठाएकोबारे कर्मचारीबाट जानकारी नै नभएको बताए।

जिल्ला निर्वाचन कार्यालय सप्तरीले दिएको जानकारीअनुसार ५ हजार ५१ जनाले खर्चको विवरण नै बुझाएनन्। विवरण बुझाउनेको संख्या ४ सय ८४ जना मात्र छ। त्यसमा पनि समयभित्र बुझाउने त २ सय ४६ जना मात्र छन्। गत वैशाख ३० गते सम्पन्न स्थानीय निर्वाचनमा जिल्लामा कुल ८ सय ५६ पदका लागि ५ हजार ५ सय ३५ जनाले प्रतिस्पर्धा गरेका थिए। निर्वाचित ८ सय ५६ जनप्रतिनिधिमध्ये १ सय ६८ जनाले र निर्वाचित नभएकामध्ये ३ सय १६ जना विवरण बुझाएका हुन्।

‘ऐनले निर्वाचनको परिणाम घोषणा भएको मितिले ३० दिनभित्र निर्वाचन खर्च विवरण तोकिएको ढाँचामा पेस गर्नुपर्ने भनेको छ’, जोशीले भने, ‘पटक–पटक सूचना जारी गरे पनि ३ सय ४१ पुरुष र १ सय ४३ महिला उम्मेदवारले मात्र विवरण बुझाए।

दुई पालिकाका कसैले बुझाएनन् तथ्यांकअनुसार १२ वडा रहेको कञ्चनरूप र ११ वडा रहेको सप्तकोसी नगरपालिकाका कुनै पनि उम्मेदवारले विवरण बुझाएनन्। जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी सरोज मेहताका अनुसार कञ्चनरूपमा ३ सय ४३ र सप्तकोशीमा २ सय ५५ जनाले उम्मेदवारी दिएका थिए।

पाँच वडा रहेको तिरहुत गाउँपालिकाका पराजित एक अध्यक्षका उम्मेदवारले मात्र विवरण बुझाए। उक्त गाउँपालिकामा १ सय ८६ जनाको उम्मेदवारी परेको थियो। ११ वडा रहेको सुरुंगा नगरपालिकामा ३ सय २३ जनाले उम्मेदवारी दिएका थिए।

तीन जनाले विवरण बुझाए। बलानबिहुल गाउँपालिकामा ६ वडा छन्। त्यहाँ १ सय ९३ उम्मेदवार बनेकामा तीन जनाले मात्र विवरण बुझाए। निर्वाचन कार्यालयको तथ्यांकअनुसार राजविराज, शम्भुनाथ र डाक्नेश्वरी नगरपालिकामा निर्वाचित मेयर र उपमेयर दुवैले खर्च विवरण बुझाएनन्। रूपनी, बलानबिहुल, तिरहुत र अग्निसाइर कष्णसवरन गाउँपालिका अध्यक्ष र उपाध्यक्षले पनि विवरण नबुझाएको कार्यालयको तथ्यांकले देखाउँछ। हनुमाननगर कंकालिनीका मेयर, छिन्नमस्ताका अध्यक्ष, खडकका उपमेयर, राजगढ र विष्णुपुरका उपाध्यक्षले पनि विवरण नबुझाएको तथ्यांकमा देखिन्छ। अन्नपूर्ण पाेस्ट दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.