चीनले चन्द्रमामा उमारेका बिरुवा रातको चिसो खप्न नसकेर मरे

रिपोर्ट नेपाल | 2019 Jan 17 | 02:27 pm 1851

एजेन्सी, माघ ३ : चन्द्रमामा चीनको अन्तरिक्ष अभियानले उमारेका कपासका टुसाहरू मरेका चिनियाँ वैज्ञानिकहरूले बताएका छन्।

अन्तरिक्ष अभियान चांग’अले लिएर गएका बीउहरू टुसाएको भन्दै चीनले मङ्गलवार तस्बिरहरू सार्वजनिक गरेको थियो। तर चन्द्रमामा गरिएको जैविक अनुसन्धानको यो उपलब्धि सार्वजनिक गर्दा ती टुसाहरू मरेको जानकारी भने उसले दिएको थिएन।

अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा यसअघि पनि बोटबिरुवाहरू उमार्ने गरिएको थियो। तर चन्द्रमामा बिरुवा उमारिएको भने यो पहिलो पटक थियो। चन्द्रमामा रात पर्दा ती साना बिरुवाहरू मरेका बताइएको छ।

विशेष किसिमको भाँडोभित्र उमारिएको भए पनि राति बिरुवाहरूले घटेको तापक्रम खप्न नसकेका र ती मरेका सो प्रयोगको योजना बनाउने एक वैज्ञानिकले चिनियाँ समाचारसंस्था सिन्ह्वालाई बताएका छन्।

माइनस १७३ देखि १०० डिग्री सेल्सियससम्म तलमाथि भइरहने चन्द्रमाको सतहको तापक्रम बिरुवा हुर्कनलाई उपयुक्त हुने अवस्थामा कायम राख्‍नु सबैभन्दा ठूलो चुनौती मानिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.