चीन लाने गैंडाको न्वारन – भालेको (सोल्टी) र पोथीको (मितिनी)

रिपोर्ट नेपाल | 2018 Jul 26 | 03:06 pm 2509

चितवन, साउन १०: सरकारले चीनलाई उपहार दिन लागेको अर्को एक जोडी गैंडाको नामाकरण गरिएको छ ।

सौराहामा रहेको जोडी गैंडामध्ये भालेको नाम (सोल्टी) र पोथीको नाम (मितिनी) राखिएको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत बेदकुमार ढकालले जानकारी दिए ।

ढकालले केन्द्रबाटै ती जोडी गैंडाको नामकरण गरी चितवन राष्ट्रिय निकुञ्जमा एसएमएसबाट जानकारी भएको बताए । ती गैंडा लैजाने मिति भने यकिन नभएको र हाल चितवनको सौराहास्थित राष्ट्रिय प्रकृति संरक्षण कोषको परिसरमा रहेको पिट बोमा (सानो खोर) मा ती गैंडाहरु छन् ।

राष्ट्रिय प्रकृति संरक्षण कोष चितवनका प्रमुख रामकुमार अर्यालका अनुसार जोडी गौंडा साउनमा नभए भदौमा जान्छ भनि बताए ।
भाले चाहिँ अघिल्लो वर्ष बाढीले बगाउँदा भारतीय सीमा नवलपरासीको त्रिवेणीबाट उद्धार गरी ल्याइएको हो । पोथीलाई चितवन राष्ट्रिय निकुञ्जको पश्चिम सेक्टरबाट गएको वैशाखमा नियन्त्रणमा लिएर सौराहामा राखिएको हो ।

सरकारले हालसम्म १० देशलाई २६ गैंडा उपहार दिइसकेको छ । विश्वमै दुर्लभ मानिएको एकसिंगे गैंडा संख्याका हिसाबले चितवन राष्ट्रिय निकुञ्ज विश्वकै दोस्रो संरक्षित क्षेत्र हो । सरकारले एकसिंगे गैंडाको बाह्य बासस्थान संरक्षणको सिद्धान्त अनुसार मित्रराष्ट्रलाई समयसमयमा गैंडा उपहार दिँदै आएको छ ।

भारतलाई सन् १९८४ मा चार तथा १९८७ र १९९० मा दुईचोटी गरेर अमेरिकालाई ६ वटा गैंडा उपहार दिएको थियो । सन् १९९० देखि २००६ सम्म जर्मनी, बंगलादेश, बेलायत, जापान, अष्ट्रियामा दुई÷दुई वटाका दरले १० गैंडा उपहार दिइयो ।

थाइल्याण्ड, बर्मा र पाकिस्तानलाई पनि दुई÷दुई वटाका दरले ६ गैंडा पठाइएको चितवन निकुञ्जको तथ्यांकमा उल्लेख छ । पछिल्लो गणनामा चितवन निकुञ्जमा ६०५ गैंडा छन् । नेपालमा गैंडाको संख्या ६४५ छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.