चीन भन्छ- ‘नेपालका प्रधानमन्त्रीको चीन भ्रमण विशेष उपलब्धिमूलक’

| 2018 Jun 21 | 09:52 pm 2597

प्रधानमन्त्री केपी शर्मा ओलीको यस पटकको चीन भ्रमण विशेष उपलब्धिमूलक भएको चीनले जनाएको छ । प्रधानमन्त्री ओली र उनका समकक्षी लि खछ्याङबीच भएको प्रतिनिधिमण्डलस्तरीय भेटवार्ता र दुई देशबीच भएका महत्वपूर्ण सम्झौतापछि बेइजिङमा आयोजित पत्रकार सम्मेलनमा सो प्रतिक्रिया दिइएको प्रतिनिधि मण्डलमा सहभागी सञ्चारकर्मीले जनाएका छन् ।

प्राप्त जानकारीअनुसार चीनको परराष्ट्र मन्त्रालयका सहायकमन्त्री कोङ सुयन युले सम्झौता सकिएसँगै ग्रेट हल अफ द पिपुल्समा आयोजित पत्रकार सम्मेलनमा भने, ‘प्रधानमन्त्री ओलीको भ्रमण ‘स्पेसल सिग्नेफिकेन्स’ भयो ।’ सहायकमन्त्री कोङले राजनीतिक स्थायित्वपछि नेपालको समृद्ध नेपाल सुखी नेपालीको लक्ष्य पूरा गर्न चीनले सक्दो सहयोग गर्ने प्रतिबद्धता गरेको समेत बताएका थिए ।

प्रधानमन्त्रीका रुपमा ओलीको दोस्रो पटकको यस भ्रमणमा १४ विषयमा सहकार्य गर्ने सहमति भएको जानकारी दिँदै उनले नेपालले पनि एक चीन तथा चीनविरुद्ध कुनै गतिविधि हुन नदिने प्रतिबद्धता व्यक्त गरेको बताए ।

नेपालले चीनबाट उच्चस्तरको भ्रमणको इच्छा व्यक्त गरेको र जवाफमा चिनियाँ पक्षले सकारात्मक जवाफ दिएको उनको भनाइ छ । सहायकमन्त्री कोङले हिमाली अन्तरदेशीय सम्पर्कलाई विस्तार गर्दै लैजाने विषयमा दुवै देशका नेताहरु सहमत भएको तथा स्वतन्त्र व्यापार सम्झौताका विषयमा सम्भाव्यता अध्ययन गर्ने र नेपालका सातै प्रदेशमा आर्थिक विकास गर्ने विषयमा विचारविमर्श भएको जानकारी दिएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.