चिनियाँ स्याउ नेपाल सीमा नाका हुँदै भारत तस्करी

रिपोर्ट नेपाल | 2021 Jun 14 | 08:43 am 2481

विराटनगर, जेठ ३१ः सुनसरीको सीमा नाकादेखि खुलेआम रूपमा चिनियाँ स्याउको भारततर्फ तस्करी हुने गरेको पाइएको छ । सुनसरीको सीमा नाकादेखि तस्करी भएको चिनियाँ स्याउ भारतीय प्रहरीले गाडीसहित ठूलो परिमाणमा पक्राउ गरेपछि यस्तो रहस्य बाहिर आएको हो ।

सुनसरी जिल्लाको सीमा नाका हुँदै तस्करी गराएको तीनवटा नेपाली नम्बर प्लेटको गाडीसहित ठूलो परिमाणको चाइनिज स्याउ आइतबार बिहान भारतीय प्रहरीले बरामद गरेको हो ।

सुनसरीको सीमा नाका हुँदै तीनवटा गाडीमा लगिएको करिब १३ सय कार्टुन चाइनिज स्याउसहित भारतीय प्रहरीले आठ जनालाई पक्राउ गरेको छ ।

तस्करी भएर गएको स्याउ भान्टाबारी नाकादेखि प्रहरीको संरक्षणमा गएको सुरक्षा स्रोतले जानकारी दिएको छ । भारतीय प्रहरीले बरामद गरेको चाइनिज स्याउ श्याम जैसवालको रहेको बुझिएको छ । सीमा नाकाहरू तस्करका नाइकेले किनेका कारण ट्रकबाटै तस्करीको स्याउ भारत पुगेको हो । नाका हेरेर मासिक १० देखि १५ लाख रुपैयाँसम्म तस्कर समूहले विभिन्न निकायका प्रमुखलाई बुझाउने गरेको बताइएको छ ।

बरामद भएको चाइनिज स्याउ तस्करीको लाइन दिने भान्टाबारी सीमा प्रहरी चौकी र सशस्त्र प्रहरी बीओपी हरिपुर, सुनसरीले संरक्षण दिएको थियो ।

स्याउ तस्करीमा लाइन दिएको आरोपमा १ नम्बर प्रदेश प्रहरी कार्यालय, विराटनगरले सुनसरीका एक जना सईसहित तीन जना प्रहरीलाई निलम्बन गरी कारबाहीको प्रक्रिया अगाडि बढाएको छ ।

प्रदेश प्रहरीले सीमा प्रहरी चौकी भान्टाबारीका प्रमुख गंगा थापालाई नीलम्बनका लागि केन्द्रीय कार्यालयलाई सिफारिस गरेको छ ।

यस्तै भान्टाबारी मातहतमा रहेको अस्थायी प्रहरी चौकी कोसी कटानका इन्चार्ज असई आशनारायण माझी र श्रीपुर प्रहरी चौकीका इन्चार्ज असई टेकबहादुर कार्कीलाई निलम्बन गरिएको १ नम्बर प्रदेश प्रहरी कार्यालय, विराटनगरका डीआइजी ईश्वरबावु कार्कीले जानकारी दिए । काराेबार दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.