चिनियाँ राष्ट्रपतिको भ्रमणपछि दुई मुलुकबीचको सहकार्य अझै मजबुत र नयाँ ढङ्गले अघि बढ्ने: मुख्यमन्त्री पोखरेल

रिपोर्ट नेपाल | 2019 Oct 16 | 06:54 am 1348

बुटवल, असाेज २९: प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले चिनियाँ राष्ट्रपति सी चिनफिङको हालै सम्पन्न नेपाल भ्रमणबाट नेपाल र चीनबीच लामो समयदेखिको मैत्रीपूर्ण सम्बन्ध नयाँ उचाइमा पुगेको बताए । उनले चिनियाँ राष्ट्रपतिको भ्रमणपछि दुई मुलुकबीचको सहकार्य अझै मजबुत र नयाँ ढङ्गले अघि बढ्ने जनाए ।

चिनकाे छेन्दूमा विकास र सहकार्यका लागि बीआरआई (बेल्ट एन्ड रोड इनिसिएटिभ) सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन समारोहमा उनले नेपाल र चीनबीचको लामो मैत्रीपूर्ण सम्बन्धले आपसी हित र सहकार्यमा फाइदा पुगेको र आगामी दिनमा सहकार्य अझ फराकिलो हुने विश्वास व्यक्तगरे ।

“दुई मुलुकबीच भाइभाइको सम्बन्ध छ, त्यहीअनुसार सहकार्य र सहयोग गर्दै आएका छौँ”, उनले भने, “हिमाल र नदीले जोडिएका दुई मुलुकबीचको सम्बन्ध राष्ट्रपतिको भ्रमणले अझ बलियो भएको छ ।”

उनले छिमेकको विकासलाई साथसाथै अघि बढाउन चीनले अघि सारेको बीआरआईप्रति नेपालले समर्थन गरिसकेको स्मरण गर्दै विकास र सहकार्यका लागि बीआरआई महत्वपूर्ण रहेको बताए।

सम्मेलनमा सहभागीहरुलाई मुख्यमन्त्रीले गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा स्वागत गर्न चाहेको बताउँदै बौद्ध दर्शनको उद्भवस्थल लुम्बिनी भ्रमणका लागि अनुरोध गरे ।

सिचुवान प्रान्त र प्रदेश ५ बीचको भगिनी सम्बन्ध कायम गर्ने समझदारी भएको र यो सम्बन्धले अनुभव आदानप्रदान र धेरै क्षेत्रमा ढोका खोलेको उनले बताए । सिचुवान र प्रदेश ५ बीच तीन महीनाअघि भगिनी सम्बन्ध कायम गर्ने समझदारीमा हस्ताक्षर भएको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.