चिनियाँ राष्ट्रपति पनामा भ्रमणमा

रिपोर्ट नेपाल | 2018 Dec 03 | 05:59 pm 2167

पनामा, मंसिर १७  : चीनका राष्ट्रपति सी जिनपिङ औपचारिक भ्रमणको क्रममा आइतबार पनामा पुगेका छन् । मध्य अमेरिकी देश पनामा र चीनबीच कुटनीतिक सम्बन्ध स्थापना भएयता चिनियाँ राष्ट्रपतिको यो पहिलो भ्रमण हो । यी दुई देशबीच सन् २०१७ मा कुटनीतिक सम्बन्ध स्थापना भएको थियो ।

राष्ट्रपति सी र उनका श्रीमती पेङ लियुआनलाई पनामाका राष्ट्रपति हुँवा कार्लोस भरेला र उनकी श्रीमती लोरेना क्यासटिल्लो गार्सियाले पनामा विमानस्थलमा स्वागत गरेका थिए ।

चिनियाँ पाहुनाको स्वागतमा स्थानीय समुदायको एक समूहले सांस्कृतिक नाचगान प्रस्तुत गर्नुका साथै सडकमा दुबै देशको राष्ट्रिय झण्डा फहराइएको थियो ।

राष्ट्रपति सीले पनामामा भव्य स्वागत गरिएकामा पनामा सरकार र स्थानीय जनताप्रति कृतज्ञता प्रकट गर्दै प्रसन्नता व्यक्त गरेका छन् ।

चिनियाँ राष्ट्रपति सी अर्जेन्टिनामा भएको औद्योगिक राष्ट्रहरुको बैठक जी–२० मा सहभागी भएर पनामा पुगेका हुन् । यस भ्रमणका क्रममा पनामाका उच्चस्तरीय नेताहरुबीच द्वीपक्षीय वार्तालगायत राष्ट्रिय र अन्तर्राष्ट्रिय विषयमा छलफल हुने अनुमान गरिएको छ ।

राष्ट्रपति सीले यसपटक चार ओटा देशको भ्रमण गर्नु हुनेछ । यसअघि उहाँले अर्जेन्टिना र स्पेनको भ्रमण गरिसकेका छन् भने पनामापछि उनी पोर्चुगल जाने कार्यक्रम रहेको समाचारमा जनाइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.