काठमाडौं, असाेज ७: प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ मोडलको समाजवाद नेपालका लागि प्रेरणा रहेको बताएका छन्। नेपाली क्रान्तिको आफ्नै मोडल रहेको तथा नेपाल कम्युनिस्ट पार्टीको आफ्नै मौलिक सिद्धान्त रहेको चर्चा गर्दै उनले चिनियाँ समाजवाद नेपालका लागि प्रेरणा हुने बताएका हुन्। नेपाल कम्युनिस्ट पार्टी र चिनियाँ कम्युनिस्ट पार्टीबीचको संयुक्त विचारगोष्ठीमा सोमबार प्रधानमन्त्री ओलीले नेपाल चीनको विकासे मोडेलको साझेदार बन्न चाहेको बताए।
चिनियाँ कम्युनिस्ट पार्टीका महासचिव सी चिन फिङको नेतृत्व र त्यहाँको कम्युनिस्ट पार्टीको पछिल्लो समाजवादी मोडलको उनले प्रशंसा गरे। विश्वको सर्वशक्तिमान मुलुकका रुपमा उदाएको चीन बलियाले सानालाई हेप्ने कतिपय राष्ट्रको नीतिमा सहभागी नभएको समेत उनले बताए।
नेकपाको अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले नेपाल–चीन सम्बन्ध स्वार्थको लेनदेनभन्दा निकै माथि रहेको बताउँदै चीनमा सी विचारधारामा आधारित विकास मोडलले आश्चर्यजनक प्रगति गरेको र त्यसले विश्वभर बहस सिर्जना गरेको टिप्पणी गरे। ‘चिनियाँ महासचिव सीको नेतृत्वमा गठित सरकार र त्यहाँको पार्टीले अंगीकार गरेका नीतिले विश्वमा नयाँ बहस सिर्जना गरेको छ। हाल विश्वमा दोस्रो आर्थिक र औद्योगिक राष्ट्रको रुपमा उदाएको चीनको विकास र प्रगति नेपालको विकासमा उदाहरणीय साझेदारी हुन सक्छ’, प्रधानमन्त्री ओलीले भने।
ओलीले मैत्रीपूर्ण आपसी सम्बन्धमा नेपाल र चीन, दुवै देशका सरकार सचेत रहेको बताए। नेपाल सधैं एक चीन नीतिमा प्रतिबद्ध छ। हाम्रो भूमि र आकाश छिमेकी मुलुकको विरुद्ध प्रयोग हुँदैन। कुनै पनि देशको शान्तिसुरक्षा खलबल्याउने गरी बाह्य हस्तक्षेप नेपालका लागि सह्य हुँदैन। नेपाल सरकार यही असोज अन्तिम साता चीनका राष्ट्रपति सीको भ्रमण गराउने तयारीमा जुटेको छ। नागरिक न्युज दैनिकबाट