चिनियाँ प्राविधिकले बनाइरहेकाे रिङराेड बनिसक्ने बित्तिकै भत्काइने !

| 2018 Jun 24 | 03:19 pm 2981

काठमाडौँ, १० असार :  चिनियाँ प्रविधि र प्राविधिक प्रयोग गरी निर्माण भएको कोटेश्वर–कलंकी सडक ‘रोड सेफ्टी’का हिसाबले असुरक्षित देखिएको छ । दुईतर्फ कालोपत्रे सकिएपछि ग्वार्कोदेखि सानेपा पुलसम्मको खण्डमा मात्रै ११ महिनायता २२९ सवारी दुर्घटना भएका छन् । दुर्घटनामा १२ जनाले ज्यान गुमाएका छन् भने १०९ घाइते भएको महानगरीय ट्राफिक प्रहरी वृत्त सातदोबाटोले जनायो ।

सडकमा ट्राफिक लाइट, लेन लाइन, जेब्रा क्रसिङ, आकाशे पुल तथा वैज्ञानिक फुटपाथ नहुँदा दुर्घटना बढेको सातदोबाटो ट्राफिक वृत्तका प्रमुख सीताराम हाछेथू बताउँछन् । ‘सडकको दुवैतर्फ आंशिक रूपमा गाडी चलेको ११ महिनाजति भयो । यस अवधिमा २ सय २९ दुर्घटना भए । १२ जनाले त ज्यानै गुमाए,’ हाछेथूले भने, ‘सडकमा लेन रेखा छैन । सडक बत्ती छैन । जेब्राक्रसिङ छैन । न ट्राफिक लाइट राखिएका छन् । सडक पूर्ण रूपमा सञ्चालन नहुँदै यति धेरै दुर्घटना हुनुको कारण यही हो ।’

प्रहरी वृत्त सातदोबाटोका अनुसार जेब्राक्रसिङ, लेन सिग्नल र ट्राफिक सिग्नल नहुँदा दोषीलाई कारबाही गर्नसमेत गाह्रो भएको नयाँ पत्रिका दैनिकमा टेकराज थामीले विशेष रिपाेर्ट लेखेका छन् ।

सडक बनेलगत्तै भत्काइने

सडकको नक्सामै सडकबत्ती, ट्राफिक लाइट, पर्याप्त ओभर हेड ब्रिज नभएपछि चक्रपथ सडक सुधार आयोजना आफैँले सडकमा आवश्यकताअनुसारका संरचना थप्ने योजना बनाएको छ । आयोजनाका अनुसार सडकको काटेश्वर, बालकुमारी, ग्वार्को, सातदोबाटो, महालक्ष्मीस्थान, चापागाउँ दोबाटो, एकान्तकुना र बल्खु चोकमा ट्राफिक लाइट निर्माण गरिनेछ ।

त्यस्तै, प्रत्येक पाँच सय मिटरको फरकमा निर्माण गरिने ‘ओभर हेड ब्रिज’ पनि आयोजनाले नै गर्नेछ । त्यसबाहेक सडकबत्तीका लागि आवश्यक पोल गाड्ने काम पनि आयोजनाले नै गर्नेछ । यसका लागि उक्त क्षेत्रहरूमा कालोपत्रे गरिएको सडक भत्काउनुपर्छ ।

आयोजनाका इन्जिनियर अर्यालले भने, ‘उनीहरूका नक्सामा तीनवटा मात्रै आकाशे पुल निर्माण हुने भनिएको छ । त्यो बनाएर पनि सके । तर, अहिले त्यति पुलले नपुग्ने देखियो । यसका लागि प्रत्येक ५ सय मिटरको फरकमा हामी नै आकाशे पुल बनाउँछौँ । यसका लागि करिब २२ करोड विनियोजन पनि गरिएको छ । उनीहरूको जिम्माको काम सकेपछि मात्रै हामी आफ्नो काम सुरु गर्छौं । ट्राफिक लाइट निर्माणका लागि भने अहिलेसम्म बजेट छैन ।’

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.