चितवनको कालिकामा कसरी गर्छन खोलाको दोहन !

| 2018 Aug 08 | 04:52 pm 1688

चितवन, साउन २३: जिल्लाको कालिका नगरपालिकामा केहि समय अघि भएको सडकको कालोपत्रे र हुँदै गरेको कालोपत्रेका लागि कसरी अवैध खोला दोहन हुन्छ भन्ने कुराहरु क्रमश रिपोर्ट नेपालले प्राप्त गरेको छ ।

झण्डै पन्ध्र दिन अघि देखि खोलाको दोहन सम्बन्धी अनुसन्धानमा रहेको रिपोर्ट नेपालको प्रतिनिधिलाई स्थानीयबासीले एक पछि अर्को सूचना उपलब्ध गराउन थालेका छन् ।

स्थानीयबासीले दिएको जानकारी अनुसार नगरपिता खुमबहादुर श्रेष्ठ (गोपी) ले जनतालाई साच्चीकै सडकको सुविधा दिलाएका रहेछन कि भनेको त ठेकेदारसँग मिलेर आफ्नौ सुविधा लिइरहेका रहेछन ।

सडक कालोपत्रे गर्ने बहानामा आफ्नै मान्छेलाई ठेक्का दिने दिलाउने र खोला दोहन गरी ढुङ्गा, गिट्टी, रोडा र बालुवा उपलब्ध गराई कमिशन लिने गरेको स्थानीयको आरोप छ ।

यस अघि गरेको चिसापानी, गैरीगाउँ क्लबचोकको कालोपत्रेमा पनि मेयर श्रष्ठले ठेकेदारलाई माल उपलब्ध गराइदिए वापत राम्रो कमिसन लिने गरेको बताइन्छ ।

पदमपुर, खोलेसिमल, जुटपानी लगाएतको सडक कालोपत्रे गर्नका लागि पनि ठेकेदारलाई खोला दोहन गरी सामाग्री उपलब्ध गराउने गरेको बताइन्छ ।

गत आइतबार वडा नं. ८ का अध्यक्ष सहितको टोली स्काभेटर सहित खोलामा भेटिएको घटनाले पनि नगर प्रमुख श्रेष्ठ र केहि उनी नजिकका वडा अध्यक्षले खोलालाई दुहुनो गाई बनाएको प्रष्ट हुन्छ ।

रातभरी मेसिन लगाएर डम्पीङ्ग गर्ने र दिउसो डम्पीङ्ग गरेको पुरानो माल भन्दै टिपरमा पठाउने गरेको स्थानीय बासीको भनाई रहेको छ । बाटो कालोपत्रे गर्ने नाममा ठेकेदारसँगको मिलेमतोमा गरिएको खोलाको दोहन सम्बन्धी समाचारको अपडेटका लागि पाठक वर्गलाई जानकारी गराउदै जानेछौं ।

मंगलबार रिपोर्ट नेपालले समाचार प्रकाशित गरेपछि स्थानीयबासीले खुशी व्यक्त गरेका छन् भने कालिकाका मेयर श्रेष्ठले चरित्र हत्या गरेको भन्दै रिपोर्ट नेपालमा टेलिफोन गरेका थिए ।

ठेकेदारले कालोपत्रे गर्दा अलकत्रा बाहेक सबै सामान मेयर श्रेष्ठसँग लिएको कुरालाई कसरी चरित्र हत्या भयो ? स्थानीय राजनीति पार्टी, नागरिक समाज तथा समाजसेवीले प्रश्न गरेका छन् ।

रिपोर्ट नेपाललाई मेयर श्रेष्ठले ९८५५०८०१४३ बाट फोन गरी आफू स्वच्छ र निस्कलंक भएको बताएका थिए । आफूले खोला दोहन लगाएतका अन्य घटनाको रोकथामको लागि प्रहरीलाई सहयोग गर्न अनुरोध गरेको भन्दै हास्यास्पद कुराकानी गरेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.