चालकले मदिरा खाने प्रवृत्तिले पैदल यात्री असुरक्षित

| 2020 Feb 15 | 09:32 am 1890

काठमाडौं, फागुन ३: व्यस्त बन्दै गएको राजधानी काठमाडौंमा पैदल यात्रु दिन प्रतिदिन असुरक्षित हुने क्रम बढेको छ । चालकले ट्राफिक नियमको पालना नगर्नु, मदिरा सेवन गरेर सवारी चलाउनु, लापर्बाही किसिमले चलाउनु र सरकारी निकायबाट प्रभावकारी अनुगमन हुन नसक्नुलगायतका कारणले पैदल यात्रु दुर्घटनाको चपेटामा पर्ने क्रम बढेको हो ।

पैदल यात्रु दुर्घटनामा घाइते भएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंमा सवारी क्षतिपूर्ति दिलाइ पाऊँ भन्दै निवेदन दिनेको संख्या ह्वात्तै बढेको छ । आर्थिक वर्ष २०७५र७६ मा क्षतिपूर्ति लिन आउनेको संख्या २५ प्रतिशत रहेकामा २०७६र७७ को माघ महिनासम्ममा नै त्यस्तो उजुरी गर्नेको संख्या २५ भन्दा बढी पुगेको छ । सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६३ मा सवारी साधनले गराएको क्षतिपूर्ति प्रमुख जिल्ला अधिकारीले पीडकबाट भराइदिनुपर्ने कानुनी व्यवस्था छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रवक्ता जीवनप्रसाद आचार्यले अघिल्लो वर्षको तुलनामा यस वर्ष क्षतिपूर्ति उपलब्ध गराइपाऊँ भनी निवेदन दिनेको संख्या अत्यधिक बढेको बताए । प्रवक्ता आचार्यले भने, ‘मदिरा सेवन र तीव्र गतिमा चलाउनु नै दुर्घटनाको कारण हो ।’ समग्रमा हेर्दा ट्राफिक नियमको पालन नगर्नु नै सवारी दुर्घटनाको मुख्य कारण देखिन्छ,’ प्रवक्ता आचार्यले भने । जिल्ला प्रशासन कार्यालय काठमाडौंका अनुसार ६० प्रतिशत दुर्घटनामा सवारीसाधनले पैदल यात्रीलाई ठक्कर दिने गरेको छ ।

जिल्ला प्रशासन कार्यालयअनुसार दुर्घटनाको क्षतिपूर्ति तिर्न प्रतिवादी उपस्थित नहुने, उपस्थित हुनेले पनि तिर्न नमान्ने गरेका छन् । सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६३ मा घाउ खर्च, किरिया खर्च र क्षतिपूर्ति जिल्ला प्रशासन कार्यालयले पीडक पक्षलाई भराइदिने व्यवस्था गरिएको छ ।
सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६३ दफा ९१० मा सवारी दुर्घटनाबाट कुनै पक्षलाई कुनै पनि किसिमको हानि नोक्सानी पुग्न गएमा पीडित पक्षलाई प्रमुख जिल्ला अधिकारीले घाउ खर्च र क्षतिपूर्तिको रकम चालक, सवारी धनी वा व्यवस्थापकबाट भराइदिनुपर्ने व्यवस्था छ । राजधानी दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.