चार राष्ट्रप्रमुख आजै फर्कने, भारतसँग छुट्टै सम्झौता

| 2018 Aug 31 | 06:35 am 1619

काठमाडौं, भदौ १५: बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल खाडीको प्रयास (बिमस्टेक) चौथो सम्मेलनमा सहभागी हुन आएका सदस्य राष्ट्रका कार्यकारी प्रमुखहरुमध्ये ४ जना आजै (शुक्रबार) नै फर्कने भएका छन् । परराष्ट्र मन्त्रालयका अनुसार बंगलादेशकी प्रधानमन्त्री शेख हसिना, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, म्यानमार राष्ट्रपति विन मिन्ट र थाइल्यान्डका प्रधानमन्त्री प्रयुत व चा शुक्रबार नै भएका हुन् ।

भुटानका अन्तरिम मन्त्रिपरिषद्का अध्यक्ष छिरिङ वाङचुक भने शनिबार फर्कने छन्। उनी लुम्बीनि भ्रमणमा जाने कार्यक्रम छ। श्रीलंकाको राष्ट्रपति मैत्रीपाल सिरिसेना आइतबार मात्रै स्वदेश फर्कने कार्यक्रम छ। नेपालका प्रधानमन्त्री केपी ओली र उनीबीच द्विपक्षीय भेटघाटका कार्यक्रम छ ।

चौथो सम्मेलनमा भाग लिन भारतीय प्रधानमन्त्री मोदी, बंगलादेशकी प्रधानमन्त्री हसिना र थाइल्यान्डका प्रधानमन्त्री प्रयुत व चा बिहीबार काठमाडौ आएका हुन्। म्यानमारका राष्ट्रपति विन मिन्ट दुई दिनअघि मंगलबार नै काठमाडौं आएका थिए। श्रीलंकाका राष्ट्रपति सिरिसेना र भुटानका अन्तरिम मन्त्रिपरिषद्का अध्यक्ष छिरिङ वाङचुक भने बुधबार काठमाडौं आएका थिए ।

बिहीबार उनीहरु सबैलाई राष्ट्रपति विद्यादेवी भण्डारीले सामूहिक भेट गर्दै दिवाभोज दिएकी थिइन् । भोजलगत्तै सोल्टी होटलमा उपस्थित भइ उनीहरुले शिखर सम्मेलनमा उद्घाटन मन्तव्य राखेका थिए । सम्मेलनमा नेपालका प्रधानमन्त्रीका लागि २२ मिनेट र अन्य राष्ट्रका कार्यकारी प्रमुखका लागि १५/१५ मिनेको समय छुट्याइएको थियो ।

सम्मेलनमा सम्बोधन गरेलगत्तै उनीहरु बौद्धस्थित हायात होटल पुगे । नेपालका प्रधानमन्त्री ओलीले रात्रिभोजको आयोजना गरेका थिए । भोजमा नेपालस्थित कूटनितिक नियोगका उच्च अधिकारीहरु, केही परराष्ट्रविद् तथा सरोकारवाला अधिकारीसमेत सहभागी भएका छन् ।

भारतसँग छुट्टै सम्झौता

रिट्रिटको कार्यक्रमपछि शिखर सम्मेलनको घोषणापत्रमा सदस्य राष्ट्रका कार्यकारी प्रमुखहरुले हस्ताक्षर गर्नेछन् । उक्त हस्ताक्षर र घोषणापत्र जारीपछि नेपालका प्रधानमन्त्री ओली र भारतीय समकक्षी मोदीको उपस्थितिमा द्विपक्षिय सम्झौताको तयारी छ ।

परराष्ट्र स्रोतका अनुसार रक्सौल–काठमाडौं विद्युतीय रेलमार्गको इन्जिनियरिङ अध्ययन सम्झौतामा हस्ताक्षर हुने छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले यसअघि घोषणा गरिएको बल्क कार्गोसम्बन्धी सम्झौतामा भने हस्ताक्षर नहुने भएको छ । तयारी अपुग भएका कारण उक्त सम्झौता नहुने परराष्ट्र स्रोतले जनाएको छ ।

सम्मेलन स्थलमै रिट्रिट

सम्मेलनमा सहभागी हुन आएका बिमस्टेक सदस्य राष्ट्रका कार्यकारी प्रमुखहरुका लागि ‘रिट्रिट’ होटल सोल्टीमै हुने भएको छ । चाबहिल–जोरपाटी–गोकर्णको सडक अवस्था तत्काल सुधार गर्न नसकेपछि सरकारले सम्मेलन आयोजना स्थलमै ‘रिट्रिट’ गर्ने भएको हो । ‘यसपटक होटल सोल्टीमै हुने भएको छ,’ परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौड्यालले भने ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र सडक विभागले चाबहिल–जोरपाटी–गोकर्ण सडक स्तरोन्नति गरी रिट्रिट गोकर्ण रिसोर्टमै गर्ने गृहकार्य गरेको थियो । ‘वर्षाका कारण द्रुतगतिमा त्यो सडक सुधार गर्न सकिने अवस्था नै भएन,’ मन्त्रालयका सचिव मधुसूदन अधिकारीले भने, ‘सडक बनाउन नसक्ने जानकारी गराएपछि सोल्टीमै गर्ने भनिएको छ ।’

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.