‘चाँडै धरहराको टुप्पोमा चढेर काठमाडौं हेर्न पाउँ’

| 2018 Dec 27 | 12:20 pm 1671

काठमाडौं, पुस १२ : प्रधानमन्त्री केपीशर्मा ओलीले ०७२ सालको भूकम्पले ढलेको धरहराको शिलान्यास गर्दै चाँडै नयाँ धरहराको टुप्पोमा चढेर काठमाडौं हेर्ने इच्छा व्यक्त गरेका छन्। बिहीबार बिहान राष्ट्रिय पुन:निर्माण प्राधिकरणले आयोजना गरेको ऐतिहासिक धरहरा पुन:निर्माण शिलान्यास कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले धरहरा निर्माणमा सबैको सहयोग र साथ आवश्‍यक परेको बताएका हुन्।

उनले भने, ‘समयमै धरहरा निर्माणका लागि सबैको साथ आवश्यक छ। महत्वपूर्ण र ऐतिहासिक कामको विरोध गर्नु राम्रो हुँदैन। सबैले कामना गरौं की चाँडै यस नयाँ बन्‍ने धरहराको टुप्पोमा चढेर काठमाडौं हेर्न पाउँ।’

धरहराको टुप्पोबाट हेर्दा धुलोले काठमाडौं नदेखिने भयो भने हाम्रो सभ्यताका लागि चुनौती हुन्छ। त्यसकारण प्रदुषण नियन्त्रणका लागि सरकरा लागि परेको उनले बताए। उनले भने, ‘दुनियाँका अगाडी सचेत, आधुनिक नागरिक बन्‍न जरुरी छ।’

उनले विकास निर्माणका काममा आधुनिकतासहितको गौरवपूर्ण इतिहासलाई अगाडी बढाएको समेत बताए। उनले भने, ‘यस्ता काममा विरोध बाञ्‍छनीय हुँदैनन्। सबैलाई साथ र सहयोगको आग्रह गरौं। राम्रा कामको विरोध नगरौं। सकिन्छ राम्रो गरौं, सकिदैन राम्रो कामको विरोध नगरौं।’

यो पनि,  घोषणाको चार वर्षपछि आज धरहरा पुन:निर्माणको शिलान्यास, २२ तलाको बन्‍ने

भिमसेन थापाको पालामा बनेको धरहरा पछिल्लो पटक २०७२ वैशाख १२ को गोरखा भूकम्पमा भत्किएको थियो ।

शिलान्यास कार्यक्रममा नेकपा अध्यक्ष प्रचण्ड, उपप्रधानमन्त्री एवम् रक्षामन्त्री इश्वर पोख्रेल, गृहमन्त्री रामबहादुर थापा ‘बादल’, पर्यटनमन्त्री रविन्द्र अधिकारी, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादव, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सीईओ सुशील ज्ञवाली काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य लगायत उपस्थित थिए ।

प्रधानमन्त्री ओलीले अघिल्लो कार्यकालमा ‘मेरो धरहरा मै बनाउँछु’ अभियान सुरु गरेका थिए । तर, पुनर्निर्माण सुरु हुन सकेको थिएन । त्यसको झण्डै चार वर्षपछि प्रधानमन्त्री ओलीले नै पुनर्निर्माणको शिलान्यास गरेका हुन् ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले धरहरा पुनर्निर्माणको जिम्मा जीआईईटीसी-रमन जेभीलाई दिएको छ । भूकम्पले भत्किएको धरहरालाई सिसाभित्र राखेर संरक्षण गर्ने र त्यसकै छेउँमा पुरानै शैलीमा अत्याधुनिक सुविधासहित नयाँ धरहरा निर्माण हुने प्राधिकरणको सम्पदा विभाग प्रमुख राजुमान मानन्धरले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.