गुल्मी, साउन १३ः सामग्री लिएर गुल्मीकाे चन्द्रकोट जाँदै गरेको ट्रक पहिराेले बगाएको छ। ना६ख ७७९२ नम्बरको ट्रक चन्द्रकोट गाउँपालिका–७ खसिमारे भन्ने स्थानमा पहिरोले बगाएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक केदारराज पन्तले जानकारी दिए।
बुटवलबाट सिमेन्ट, ग्यास, छडजस्ता समान लिएर शान्तिपुर जाँदै गरेको ट्रक बाटोकाे हिलोमा फसेर राेकिएकाे अवस्थामा पहिरोले बगाएर १ किलोमिटर तल लगेको प्रहरीले जनाएको छ ।
सोमबार साँझ हिलो बाटोमा फसेकाे ट्रक डोजरले तान्दा टोचन छिनेको र पछि पहिरो आई राति करिब एक बजे पहिरोले बगाएको थियो।
पहिरोले ट्रक बगाए पनि मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ। क्षतिको विवरण संकलनको कार्य भइरहेको पन्तले बताए।