चट्याङबाट मकवानपुरमा दशजना घाइते

रिपोर्ट नेपाल | 2019 Jan 26 | 03:50 pm 1932

हेटौंडा, माघ १२ : मकवानपुर जिल्लाको दुई स्थानमा शुक्रबार राति र शनिबार बिहान परेको चट्याङबाट दशजना घाइते भएका छन्। मकवानपुर जिल्लाको भीमफेदी गाउँपालिका र राक्सिराङ गाउँपालिकामा भिन्दाभिन्दै समयमा परेको चट्याङबाट दशजना घाइते भएका हुन्।

भीमफेदी गाउँपालिका ९ भदौरेमा शनिबार विहान चट्याङ लागेर पाँचजना घाइते भएका छन् भने पश्चिमी मकवानपुरको राक्सिराङ गाउँपालिकामा चट्याङका कारण शुक्रबार साँझ पाँचजना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले पुष्टि गरेको छ। चट्याङ लागेर भीमफेदीमा एक बालकसहित पाँचजना घाइते भएका छन्।

घाइते हुनेमा १२ वर्षीय सफल उप्रेती, ५० वर्षीया पार्वती पराजुली, ६० वर्षीय आनन्दराम पराजुली, ३० वर्षीया सुनिता प्रजा र ४० वर्षीय कृष्णबहादुर प्रजा रहेका छन्। घाइते मध्ये कृष्णबहादुर प्रजाको हेटौंडा अस्पतालमा र अरुको भरतपुरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

प्रहरीका अनुसार चट्याङका कारण राक्सिराङ गाउँपालिका १ भूमिथुमका ५ जना घाइते भएका छन्। घाइते हुनेमा स्थानीय सुन्तली थिङ, बीरबहादुर बल, बसन्त बल, ठूलीमाया र १ वर्षको बालक रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक यज्ञप्रसाद भट्टराईले जानकारी दिए। राक्सिाराङमा १५ जनालाई चट्याङ लागे पनि अरुको अवस्था सामान्य रहेको उनले जनाएको छ। उनीहरूको सामान्य घाइते रहेका कारण उपचारका लागि हेटौंडा ल्याइएको छैन।

चट्याङबाट तीन घरमा क्षति पुगेको छ भने पाँच पशुचौपाया मरेका प्रहरीले जनाएको छ। घटनास्थलमा मनहरीबाट प्रहरी टोली प्रस्थान गरेको थप क्षतिपूर्तिको विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ। मकवानपुर जिल्लाको विशेष गरी पश्चिम र पूर्वीक्षेत्रमा चट्याङबाट वर्षेनी कयौंले ज्यान गुमाउने गरेका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.