घरभित्रै अर्धनग्‍न किशोरीको शव फेला : हत्या आशंकामा बुबा पक्राउ, आमा फरार

रिपोर्ट नेपाल | 2019 Jan 31 | 08:09 am 1628

सप्तरी, माघ १७ : सप्तरीमा एक किशोरीको अर्धनग्‍न अवस्थामा शव फेला परेपछि प्रहरीले हत्या आशंकामा उनका बुबालाई पक्राउ गरेको छ।

बलान बिहुल गाउँपालिका–४ बेल्हीकी १६ वर्षीया सरिताकुमारी बडहीको अर्धनग्न शव चोटपटक लागेको अवस्थामा गत सोमबार राति घरमा भेटिएपछि प्रहरीले उनका बुबा ४५ वर्षीय तुरुन्तलाल बडहीलाई पक्राउ गरेको जनाएको छ । मृतककी आमासमेत फरार रहेकाले घटना थप शङ्कास्पद भएको र उनको खोजतलास भइरहेको इलाका प्रहरी कार्यालय कडरबोनाका प्रहरी निरीक्षक सुरेन्द्रकुमार श्रेष्ठले बताए।

प्रहरी निरीक्षक श्रेष्ठका अनुसार भित्रबाट चुकुल नलागेको कोठाको भित्ता छेउमा खाटमुनि लडेको शव अर्धनग्न अवस्थामा रहेको र मृतकको शरीरको केही भागमा चोटपटक लागेको दागसमेत देखिएकाले प्रहरीले सूक्ष्म अनुसन्धान गरिरहेको छ।

तुरुन्तलालले हत्या गरेको अस्वीकार गरे पनि सामान्य कुटपिट गरेको स्वीकारेका छन् । प्रहरीका अनुसार भारतमा विवाहिता दिदीका देवरसँग प्रेम गरिरहेकी सरिताले घरपरिवारले मञ्जुरी नदिए पनि प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि आफूहरूले सरितालाई कुटपिट गरेको बुबा बडहीले स्वीकारेका छन्।

शव परीक्षणका लागि मङ्गलबार धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ। शव परीक्षण रिपोर्ट र अन्य आवश्यक अनुसन्धानपछि सत्यतथ्य नजिक पुग्न सकिने बताएका प्रहरी निरीक्षक श्रेष्ठले प्रहरी प्रतिवेदनकै आधारमा समेत कारवाही प्रक्रिया अगाडि बढ्ने जानकारी दिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.