गोविन्दराज जोशीलाई ३ करोडको दाग

| 2023 Aug 24 | 07:20 am 4765

काठमाडौँ, भदौ ६।

नाम :  गोविन्दराज जोशी
पद :  पूर्वमन्त्री
अकुत कमाइ :  ३ करोड ९३ लाख ६२ हजार
मुद्दा दर्ता :  २०६० पुस १८
हालको अवस्था :  विचाराधीन 

नेपाली कांग्रेसका प्रभावशाली नेता गोविन्दराज जोशी २०४८ सालमा पहिलो पटक शिक्षामन्त्री बनेका थिए। त्यसपछि पनि विभिन्न मन्त्री भएका उनीविरुद्ध अख्तियारले २०६० पुस १८ मा विशेष अदालतमा ३ करोड ९३ लाख ६२ हजार ५ सय ७६ रुपैयाँ भ्रष्टाचारको मुद्दा दायर गरेको थियो।

उनीविरुद्ध १३ वर्ष कैद सजायको माग पनि गरिएको थियो। अख्तियारले जोशी पत्नी सविता पन्त, सविताकी दिदी चोलाकुमारी पन्त, सासू नीरकुमारी, साला बासुदेव पन्त र वासुदेवका कान्छा ससुरा ताराराज पाण्डेलाई समेत मुद्दा चलाएको थियो। जोशीले उनीहरूका नाममा अकुत सम्पत्ति राखेका थिए।

तर, विशेष अदालतले जोशीलाई सफाइ दिएको थियो। विशेष अदालतका तत्कालीन न्यायाधीश भूपध्वज अधिकारी, कोमलनाथ शर्मा र चोलेन्द्रशमशेर जबराको इजलासले २०६३ कात्तिक ३० गते अख्तियारले म्याद गुजारेर मुद्दा दर्ता गरेको भन्दै मुद्दाको विषयवस्तुमा प्रवेश नै नगरी सफाइ दिएको थियो। विशेष अदालतको आदेशविरुद्ध अख्तियारले सर्वोच्चमा रिट दायर गरेको थियो।

सर्वोच्चले भ्रष्टाचार मुद्दामा हदम्याद नलाग्ने भन्दै जोशीविरुद्ध मुद्दा चलाउन आदेश दिएको थियो। त्यसपछि जोशीविरुद्धको मुद्दा विशेष अदालतमा चलेको थियो। अध्यक्ष गौरीबहादुर कार्की, सदस्य ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसेको इजलासले २०६९ साउन १० मा जोशीविरुद्ध २ करोड १६ लाख स्रोत नपुगेको भन्दै बिगोसहित असुल गर्न र डेढ वर्ष मात्र कैद सजाय सुनाएको थियो। फैसलाविरुद्ध जोशी सर्वोच्च गएका थिए। यो मुद्दामा सर्वोच्चले अहिलेसम्म फैसला गरेको छैन। लामो समयसम्म उनको मुद्दा तामेलीमा राखेको छ।

(अन्नपुर्णबाट)

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.