काठमाडौं, असार १८: डेनमार्कलाई पेनाल्टी सुटआउटमा हराउँदै क्रोएसिया फिफा विश्वकपको क्वार्टर फाइनलमा प्रवेश गरेको छ । नाटकीय सुटआउटमा क्रोएसियाले ३–२ को जित हात पार्यो ।
क्रोएसियालाई क्वार्टर फाइनलमा पुर्याउनका लागि गोलकिपर डेनियल सुबेसिचको उत्कृष्ट प्रदर्शन रह्यो । उनले सुटआउटको पाँच मध्ये तीन पेनाल्टी बचाएका थिए । चार जनाले पेनाल्टी प्रहार गर्दासम्म २–२ गोलको स्थितीमा रहेको अवस्थामा इभान राकिटिचले गोल गर्दै क्रोएसियालाई अन्तिम आठको बाटो देखाएका थिए ।
निर्धारित समय एक एक गोलको बराबरीमा सकिएको खेलको अतिरिक्त समयको अन्तिम समयमा क्रोएसियाले पेनाल्टी पाएको थियो । कप्तान लुका मोड्रिचले प्रहार गरेको सो पेनाल्टीलाई डेनमार्कका गोलकिपर क्यास्पर सेमाइकलले बचाएका थिए ।
नोभ्गोरोड स्टेडियममा पहिलो चार मिनेटभित्र दुई गोल भएपनि बाँकी समयमा थप गोल हुन सकेन । खेलको पहिलो मिनेटमा नै माटिस होर्गेनसनले गोल गर्दै डेनमार्कलाई अग्रता दिलाएका थिए। तर त्यो अग्रता दुई मिनेटमात्र टिक्यो । चौथो मिनेटमा मारियो मान्जुकिचले गोल गर्दै खेल बराबरीमा पुर्याए ।
निर्धारित ९० मिनेट र अतिरिक्त समयमा गोल हुन नसकेपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो । सुटआउटमा दुबै टिमको पहिलो प्रहारमा गोलकिपर बाधक बने । डेनमार्कका क्रिष्टियन इरिक्सन र क्रोएसियाका मिलान बादेलको प्रहार गोलकिपरले बचाएका थिए ।
त्यसपछि डेनमार्कका सिमाने कार र माइकल क्रोनले तथा क्रोएसियाका अन्द्रे क्रामारिक र लुका मोड्रिचले गोल गर्दा खेल २–२ को स्थितीमा पुग्यो । त्यसपछि डेनमार्कका लास्से सोन र क्रोएसियाका जोसिप पिभारिकको प्रहार पनि गोलकिपरले विफल बनाए । निकोलाई योर्गेनसनको पाँचौं पेनाल्टी गोलकिपर सुबेसिचले बचाए । तर इभान राकिटिचको पाँचौं पेनाल्टी गोलमा परिणत भएपछि क्रोएसिया क्वार्टर फाइनलमा पुगेको हो ।
अब क्रोएसियाले सेमिफाइनल प्रवेशका लागि आयोजक रसियाको सामना गर्नेछ । रसियाले स्पेनलाई पेनाल्टी सुटआउटमा हराउँदै क्वार्टर फाइनलमा स्थान बनाएको थियो ।