गृहमन्त्री खाँणद्वारा टेलिफोन मार्फत कास्की, तनहुँ र दाङको घटनाबारे जानकारी

रिपोर्ट नेपाल | 2021 Sep 02 | 02:04 pm 1333

काठमाडौँ, भदौ १७ः गृहमन्त्री बालकृष्ण खाँणले कास्की, तनहुँ र दाङका प्रमुख जिल्ला अधिकारीहरुलाई टेलिफोन गरी जिल्लामा भएका घटनाबारे जानकारी लिएका छन् ।

उनले कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम र तनहुँका प्रमुख जिल्ला अधिकारी सागर आचार्यसँग लगातारको वर्षापछिको पहिरोले पुर्‍याएको क्षतिबारे जानकारी लिएका हुन् । त्यसैगरी दाङमा बिहान भएको कार दुर्घटनाबारे प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ्सँग जानकारी लिएकाे मन्त्रीको सचिवालयले जनाएको छ ।

मन्त्री खाँडले प्राकृतिक विपत्तिमा परेको नागरिकको जीवन रक्षाका लागि उपलब्ध स्रोत साधनको उपयोग गरेर काम गर्न निर्देशन दिएकाे सचिवालयले जनाएको छ । तनहुँका प्रमुख जिल्ला अधिकारी आचार्यले मन्त्रीसँगको टेलिफोनमा जिल्लाको भानु नगरपालिकाको वडा न ११ मा मानेचोकमा गएको सुख्खा पहिरोबारे जानकारी लिएको बताएका छन् । आचार्यका अनुसार बुधबार गएको सुख्खा पहिरोबाट दलित परिवारका १२ घर जोखिममा परेका छन् । उनीहरूलाई सुरक्षित स्थानमा सारिएको आचार्यले जानकारी दिए । ती परिवारका लागि अस्थायी टहरा बनाउने काम सशस्त्र प्रहरीले गरिरहेको प्रजिअ आचार्यले जानकारी दिए ।

कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले पोखरा महानगरपालिकाको वडा नम्बर २० र ११ मा गएको पहिरोमा परी पाँच जनाको निधन भएको जानकारी दिए । एक जना बेपत्ता भएका छन् । पहिरोले पुर्दा ढलानका दम्पती कृष्ण श्रेष्ठ र सुन्तली तामाङको निधन भएको गौतमले जानकारी दिए । उनका अनुसार उनीहरूका छोरा सन्तोष श्रेष्ठ बेपत्ता छन् । त्यस्तै महानगरपालिकाकै वडा नं ११ नमुना टोलमा पहिरोले पुर्दा ४२ वर्षीय लक्ष्य नेपाली, अन्दाजी ४० वर्षीय विष्णु सार्की र उनका नाम नखुलेका छोराको मृत्यु भएको प्रजिअ गौतमले जानकारी दिएको सचिवालयले जनाएको छ ।

पाँच जनाको घाइते अवस्थामा उद्धार गरिएको छ । बेपत्ताको अहिले नेपाल प्रहरी र सशस्त्र प्रहरीले उद्धार कार्य जारी राखेको छ । दाङमा सिस्ने खोलाले ३–०१–०२४ च ४४४० नम्बरको कार बगाउँदा विमला केसी घोराही उपमहानगरपालिका १५का विमला केसी र राधा कुँवर तथा घोराही उपमहानगर पालिका १३ का नितामाया पुन र सुशीला श्रेष्ठको निधन भएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले जानकारी दिए । कारका चालक नरबहादुर पुन घाइते भएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.