गुल्मीमा रेबिजले महिलाको मृत्यु

रिपोर्ट नेपाल | 2022 Dec 29 | 08:18 am 1253

गुल्मी, पुस १४ः रेबिजका कारण गुल्मीमा एक महिलाको मृत्यु भएको छ। जिल्लाको गुल्मीदरबार गाउँपालिका– ६, फर्सवाकी ४० वर्षीय रजुन शाहको रेबिजका कारण मृत्यु भएको गुल्मीदरबार गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुख नारायणप्रसाद अर्यालले जानकारी दिए।

शाहलाई मंसिर ११ मा गुल्मीदरबारको कुमालटारीमा छाडा कुकुरले हातमा टोकेको थियो। लगत्तै उनी रेबिजविरुद्धको भ्याक्सिन लगाउन अर्घाखाँचीको छत्रदेवस्थित एक निजी मेडिकलमा गएकी थिइन् तर त्यहाँ उनले एन्टी रेबिज भ्याक्सिन नलगाएको पाइएको अर्यालले बताए।

गुल्मीदरबार गाउँपालिका– ६ का वडाध्यक्ष मुकेश थापाका अनुसार शाहलाई गाह्रो भएपछि पुस ६ गते तम्घासमा उपचारपछि काठमाडौंको शुक्रराज ट्रपिकल सरुवा रोग केन्द्र टेकुमा रिफर गरिएको थियो। डाक्टरले रेबिज शरीरभरि फैलिएको पुष्टि गरेका थिए। संक्रमण शरीरभरि फैलिएकाले उपचार सम्भव नभएपछि शाहलाई घरमा ल्याइएको थियो। उनको मंगलबार बेलुका मृत्यु भएको वडाध्यक्ष थापाले बताए। नागरिक दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.