गुल्मीमा पछिल्लो छ महिनामा ३८ जनाले गरे आत्महत्या, मुख्य कारण ‘डिप्रेशन’

रिपोर्ट नेपाल | 2023 Feb 05 | 04:12 pm 1145

गुल्मी, माघ २२ः गुल्मीमा पछिल्लो छ महिनामा ३८ जनाले आत्महत्या गरेका छन्। जिल्ला प्रहरी कार्यालय गुल्मीको तथ्यांक अनुसार साउनदेखि हालसम्म झुण्डिएर, विष खाएर, खोलामा हाम फालेर आत्महत्या गरेको देखिएको छ।

यो अवधिमा झुण्डिएर ३३ जना, विष खाएर दुई जना, खोलामा हाम फालेर दुई जना र दुरुत्साहन एक गरेर कुल ३८ जनाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीको तथ्याङ्कमा उल्लेख छ। आत्महत्या गर्नेमा कम्तीमा १४ वर्षदेखि बढीमा ८६ वर्ष उमेरका व्यक्ति छन्।

आत्महत्याका कारणमा डिप्रेशनको समस्या देखिने गरेको प्रहरी नायब उपरीक्षक माधवराज खरेलले जानकारी दिए। “आत्महत्या गर्ने प्राय केही समय पहिले डिप्रेशनमा गएको देखिन्छ”, उनले भने, “धेरै समस्याका कारण डिप्रेशनमा जाने अनि मृत्युको बाटो रोज्ने गरेको अनुसन्धानबाट खुलेको छ।”

आर्थिक विपन्नता, पारिवारिक कलह, पटक–पटकको असफलता, मदिरा सेवन गर्नु, लागूऔषधको लतमा फस्नु र केही गर्न सक्दिन भन्ने हिनताबोध हुँदा अधिकांश मानिस मानिस डिप्रेशनमा गएको देखिन्छ।

गुल्मीमा आर्थिक वर्ष २०७७/०७८ मा कुल ९६ जनाले आत्महत्या गरेका थिए। त्यस्तै २०७८/०७९ मा ७१ जनाले आत्महत्या गरेको प्रहरीको तथ्यांकमा उल्लेख छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.