- रमेश विश्वकर्मा
गुल्मी, मंसिर २५ : जिल्ला खेलकुद विकास समिति गुल्मीको आयोजनामा आठौँ राष्ट्रिय खेलकुद जिल्ला छनौट प्रतियोगिता मङ्गलवारबाट शुरु भएकाे छ । जिल्ला खेलकुद छनौट प्रतियोगिताको उद्घाटन गदै प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले खेलकुद व्यक्तिगत जीवनका लागि मात्र नभएर सामाजिक तथा राष्ट्रिय जीवनका लागि पनि महत्त्वपूर्ण विधा भएको बताए ।
हिजोको दिनमा खेलकुद मनोरञ्जनका रूपमा लिइने गरेता पनि अहिले खेलकुद व्यक्तिगत तथा राष्ट्रिय जीवनको लागि पनि यसको महत्त्व भएकाले सरकारले एक महत्त्वपूर्ण विधाका रूपमा लिएको बताए । उनले देश सङ्घीयतामा गएसँगै अहिले निर्माण भएका स्थानीय सरकार तथा प्रदेश सरकारले पनि खेलकुद क्षेत्रलाई अत्यन्तै महत्त्वपूर्ण रूपमा हेरेको बताए ।

उद्घाटन कार्यक्रममा आइटी.एफ. तेक्वान्दो साउथ यशिएन खेलमा प्रथम भएका वीरेन्द्र कुँवर, द्धितिय हुने आशिम बुचा, गरिमा छन्तेललाई सम्मान गरिएको थियो । यस्तै आइ.टी.एफ. तेक्वान्दो साउथ यशिएन खेलमा तेस्रो हुनुभएका सविना श्रेष्ठ, भुवन श्रेष्ठ, विपिन श्रेष्ठ, विक्रम पचभैया तथा राष्ट्रिय तेक्वान्दो खेलमा तेस्रो हुनु भएका सागर श्रेष्ठ, विकल पौडेल, प्रशान्त के.सी.लाई पनि सम्मान गरिएको थियो ।
प्रदेशस्तरीय आइ.टी.एफ. तेक्वान्दो प्रतियोगितामा प्रथम स्थान हासिल गर्न सफल पूजा रसाइली, राष्ट्रिय खेलकुद परिषद्को राष्ट्रिय च्याम्पियनसिप प्रतियोगितामा तेस्रो स्थान हासिल गर्न सफल सपना सारु मगरलाई सम्मान गरिएको थियो ।
त्यस्तै १० औँ राष्ट्रपति क्षेत्रीय प्रतियोगितामा दोस्रो स्थान हासिल गर्न सफल दिपा पुन, सचिन पुन अनि तेस्रो स्थान हासिल गर्न सफल कश्मिरा थापा, निशा पौडेल, दिपेश पुन, १० औँ राष्ट्रपति रनिङ्गशिल्ड क्षेत्रीय खेलकुद प्रतियोगिता कबड्डी खेलमा प्रथम भएका सविन क्षेत्री, सचिन क्षेत्री, कल्पना कार्की, गङ्गा राकसकोटी, सिता राना, चुरी राना, बिना तरामु र सिर्जना राहडीलाई पनि सम्मान गरिएको थियो ।
छनौट प्रतियोगितामा महिला–पुरुष भलिबल, पुरुष फुटबल, महिला–पुरुष कबड्डी प्रतियोगिता, पुरुष क्रिकेट, तेक्वान्दो महिला–पुरुष, कराते महिला–पुरुष, बक्सिङ पुरुष, ब्याडमिन्टन महिला–पुरुष, टेबलटेनिस महिला–पुरुष, एथलेटिक्स महिला–पुरुष र आई.टि.एफ. तेक्वान्दो महिला –पुरुष प्रतियोगिता गरी ११ वटा खेलमा छनौट गरिने जिल्ला खेलकुद विकास समिति गुल्मीका कार्यालय प्रमुख डिल्ली विकले जानकारी दिए ।
छनौट प्रतियोगिता यही मङ्सिर २८ गतेसम्म सदरमुकाम तम्घासमा सञ्चालन हुनेछ । जिल्लामा छनौट भएका खेलाडीहरू आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि प्रदेश छनौटमा जानेछन् ।