काठमाडौं, असोज ६ः गुल्मी नेपाली कांग्रेस जिल्ला कार्यसमितिले स्थानीय एक मुद्दाका विषयमा जिल्ला प्रशासन कार्यालय गुल्मीमा ज्ञापन पत्र बुझाउने क्रममा प्रशासनद्वारा बल प्रयोग गरी दुर्व्यवहार गरेको घटना माथि नेपाली कांग्रेस संसदीय दलको गम्भीर ध्यानाकर्षण भएको भनी प्रमुख सचेतक बालकृष्ण खाँणले विज्ञप्ति मार्फत जानकारी गराएका छन् ।
सामाजिक दूरी तथा काेराेना संक्रमणकाे मापदण्ड कायम गर्दै जिल्ला प्रशासन कार्यालय पुगेका पार्टी सभापति लगायतका अन्य कार्यकर्ताहरुलाई प्रवेशमा रोक लगाउनु र शान्तिपूर्ण रुपले ज्ञापन पत्र बुझाउन नदिनु स्थानीय प्रशासनको नियतमै खोट देखिएको सचेतक खाँणले उल्लेख गरेका छन् ।
उक्त घटनाले मौलिक हकलाई कुण्ठित गर्ने र नागरिकको आवाजलाई दबाउने कार्य भएको जनाइएको छ । स्थानीय प्रशासन एवं सरकारको दमनकारी कार्यको नेपाली कांग्रेस संसदीय दल घोर भर्त्सना गर्दछ भनी विज्ञप्तिमा जनाएका छन् ।
प्रहरी प्रशासनको दमनमा परी कांग्रेसका जिल्ला पार्टी सभापति भुवन श्रेष्ठ एवं प्रदेश क्षेत्रीय सभापति पूर्ण केसी लगायतका कार्यकर्ताहरू घाइते भएका छन् ।
जिल्ला नेतृत्वमाथि नै सांघातिक आक्रमण हुनु अत्यन्त आपत्तिजनक र निन्दनीय विषय हो, यसको नेपाली कांग्रेस संसदीय दल घोर विरोध गर्दछ भनी जनाएका छन् ।
उक्त घटनामा घाईते भएका सम्पूर्ण साथीहरुको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेका छन् ।
घटनाको छानविन गरी दोषीलाई कानूनी कारवाहीको दायरामा ल्याउन माग गर्दै ज्ञापन पत्रमा उल्लेखित विषय सम्बोधन गर्न र गम्भीर बन्न सम्माननीय प्रधानमन्त्री र माननीय गृह मन्त्रीको समेत प्रमुख सचेतक खाँणले विज्ञप्ति मार्फत ध्यानाकर्षण गराएका छन् ।
