मोरङ जेठ १९ः
रानी–विराटनगर–इटहरी–धरान ६ लेन सडक निर्माणमा गुणस्तरहीन काम गरेको भन्दै प्रहरीले तुदी रमण निर्माण सेवाका साइट म्यानेजर रविराज पन्त, सुपरभाइजर विनय साह लगाएतका कर्मचारीलार्इ पक्राउ गरेकाे छ । उनीहरूलार्इ मापदण्ड भन्दा गुणस्तरहिन काम गरेकाेले जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरेको हो ।
अनुगमनका क्रममा कमसल निर्माण सामग्री प्रयोग भइरहेकोले उनीहरुलाई पक्राउ गरिएको र कारबाहीका लागि व्यापारिक मार्ग विस्तार आयोजना इकाइ इटहरी पठाउने प्रहरी उपरीक्षक मनोजकुमार केसीले बताए ।
रानी–विराटनगर–इटहरी–धरान ६ लेन सडकअन्तरगत विराटनगरस्थित महेन्द्रचोकमा नाला निर्माण गर्ने क्रममा अति गुणस्तरहिन कमसल निर्माण सामग्री प्रयोग गरिरहेको अनुगमन समितिले फेला पारेको जानकारी गराएपछि पक्राउ गरिएको उपरीक्षक केसीले बताए ।
विराटनगर महानगर प्रमुख भीम पराजुलीले महानगर क्षेत्रमा भइरहेको निर्माणको अनुगमन गर्ने क्रममा उक्त ठाउँमा मापदण्ड अनुसारको काम नभएको पाएपछि तत्काल कारबाहीका लागि जिल्ला प्रशासन कार्यालय मोरङलाई पत्राचार गरेका थिए । ‘रानी–विराटनगर–इटहरी–धरान ६ लेन सडक निर्माणमा ठेकेदारले ढिलासुस्ती गर्दै आएको र मापदण्ड विपरित निर्माण गर्दै आएकोले कारबाहीका लागि सिफारिस गर्न बाध्य भयौं,’ उनले भने, ‘महानगरभित्रका मापदण्डविपरित गुणस्तरहीन काम गर्ने जुनसुकै निर्माण कम्पनी र उपभोक्ता समितिलाई कारबाहीको दायरामा ल्याउँछौं ।’
व्यापारिक मार्ग विस्तार आयोजना इकाइ इटहरीका प्रमुख बिनोदकुमार मौवारले निर्माण कम्पनीहरुलाई पटक पटक गुणस्तरीय काम गर्न निर्देशन दिइरहदा पनि अटेरी गरेकाले प्रहरीले पक्राउ गर्नु उचित भएको बताए ।