गाडी दुर्घटनामा १४ जना घाइते, तीनजनाको अवस्था गम्भीर

रिपोर्ट नेपाल | 2018 Jul 02 | 09:08 am 2943

रुकुम, असार १८: रुकुम पश्चिममा बस दुर्घटना हुँदा १४ जना घाइते भएका छन् ।

घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ । आइतबार साँझ दाङको तुल्सीपुरबाट रुकुम पश्चिमको खलंगा आउँदै गरेको ना ४ ख ६२२६ नम्बरको बस मुसिकोट नगरपालिका–१२ को पितिबाङ खोलामा आज बिहान करीब २:३० बजेतिर दुर्घटना भएको हो ।

दुर्घटनामा परी दाङ तुल्सीपुर उपमहानगरपालिका–३ का १७ वर्षीया सृष्टी पुन, उहाँकी आमा ३६ वर्षीया माया पुन, वडा नं ८ का ३१ वर्षीय अजय बुढाथोकी र सोही ठाउँका २१ वर्षीय क्षतिज मगर घाइते भएको प्रहरीले जानकारी दिएको छ ।

यस्तै सल्यान त्रिवेणी गाउँपालिका–७ का २२ वर्षीय विष्णु परियार, सल्यान बागचौर नगरापालिका–१० का २९ वर्षीय शिशिरकुमार गिरी, सल्यान सारदा नगरपालिका–१ का गाडी मालिक २४ वर्षीय धीरेन्द्र श्रेष्ठ, रुकुम पूर्व पुथाउत्तरगंगा गाउँपालिका–३ मैकोटका २५ वर्षीय करण बुढा, सोही ठाउँका १८ वर्षीय राज बुढा, १५ वर्षीया नवीना बुढा, वडा नं १२ कोलका ३५ वर्षीय सुन्दर बुढा, उनका छोरा ११ वर्षीय बलमान बुढा तथा रुकुम पश्चिम बाँफिकोट गाउँपालिका–६ का २७ वर्षीय मोहन कुसारी घाइते भएको जिल्ला प्रहरी कार्यालय रुकुमले जानकारी दिएको छ।

घाइतेमध्ये तीन जना सृष्टी पुन, विष्णु परियार र करण बुढाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक सुमित खड्काले जानकारी दिए।

उनीहरुलाई जिल्ला अस्पतालमा सामान्य उपचारपछि थप उपचारको लागि नेपालगञ्ज रिफर गरिएको छ । अन्य घाइतेको जिल्ला अस्पताल सल्लेमा उपचार भइरहेको छ । दुर्घटनाको बारेमा अहिलेसम्म कुनै जानकारी नआएको र अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक खड्काले बताए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.