गाजामा हमासविरुद्ध इजरायलले थाल्यो आक्रमण

रिपोर्ट नेपाल | 2018 Jul 15 | 09:27 am 3278

काठमाडौं, असार ३१: इजरायलले गाजामा रहेका हमास लडाकुविरुद्ध चार वर्षयताकै ठूलो आक्रमण सुरु गरेको छ। इजरायलका अनुसार ९० भन्दा धेरै रकेट हमलाको जवाफमा हमासका दर्जनौं स्थानमा आक्रमण गरिएको छ।

सन् २०१४ मा हमासविरुद्ध भएको लडाइँपछि यो सबैभन्दा ठूलो आक्रमण रहेको बीबीसीले जनाएको छ।

प्यालेस्टिनी स्वास्थ्य अधिकारीहरुका अनुसार गाजा शहरमा भएको हवाइ हमलामा दुई जनाको मृत्यु र १२ जना घाइते भएका छन् ।

इजरायलको रक्षाबल आईडीएफका अनुसार गाजाका हमास प्रभावित क्षेत्र, उनीहरुले प्रयोग गर्ने स्थान, बेट लाहियाको बटालियनको एक मुख्यालय, उत्तरी गाजाको एक ठूलो भवनमा रहेको तालिम केन्द्र, हतियार भण्डारण र रकेट लन्चरलाई निशाना बनाइएको छ ।

आईडीएफले ट्वीटरमा लेखेको छ, ‘पछिल्लो एक घण्टामा आईडीएफका लडाकु विमानहरुले गाजापटि्टमा हमासका चार सैन्य इलाकाका दर्जनौं स्थानमा आक्रमण गरेका छन् । यी हवाई हमलाको केन्द्र बेट लाहियाको हमास बटालियनको मुख्यालय थियो ।’

साथै अर्को एक ट्वीटमा लेखिएको छ, ‘केहीबेर अगाडि आईडीएफका लडाकु विमानले उत्तरी गाजाको अल-शटी शरणार्थी क्याम्पको एक बहुतले भवनमा पनि हमला गरेको छ । यो भवनको तल सुरुङ बनाइएको थियो जसलाई तालिम दिन प्रयोग गरिन्थ्यो। यो सुरुङ हमासको आतंकी सुरुङ नेटवर्कको हिस्सा थियो

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले कारवाही अझै जारी रहने बताएका छन्। उनले भनेका छन्, यदि आवश्यक परेमा हमासको आतंकी हमलाको प्रतिक्रियाको दायरा बढाउन सकिन्छ । यदि हमासलाई आज हाम्रो सन्देश प्राप्त भएन भने भोलि प्राप्त हुने छ ।’

हमासले शुक्रबार सीमा क्षेत्रमा गरिएको प्रदर्शनको क्रममा एक इजरायली सैनिकको गोली लागेर एक प्यालेस्टाइनीको मृत्यु भएको जनाएको छ ।

गाजा क्षेत्रको स्वामित्वलाई लिएर इजरायल र प्यालेस्टाइनबीच लामो समयदेखि विवाद छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.