गर्भवती रञ्जु र १० वर्षीय छोरालाई निर्घात कुटपिट गरी धनमाल लुटपाट

रिपोर्ट नेपाल | 2018 Aug 12 | 06:37 pm 2670

राजविराज, साउन  २७  : सप्तरीको राजविराज नगरपालिका–८ स्थित रुपनी रोडमा गएराति एउटा घरमा लुटपाट भएको छ । स्थानीय सत्रुधन यादवको घरमा कोही नभएका बेला चार जनाको समूहमा आएको अज्ञात व्यक्तिले लुटपाट गरेको प्रहरी नायब उपरीक्षक भावेश रिमालले बताए ।

सो समूहले यादवको २२ वर्षीया गर्भवती बुहारी रञ्जु यादव र साढुभाइको १० वर्षीय छोरा दिलीप यादवलाई निर्घात कुटपिट गर्दा उनीहरु घाइते भएको प्रहरीले जनाएको छ । उक्त समूहले लुटपाट गरी घरमा रहेका गरगहना, सुन, चाँदी, लत्ताकपडा र नगद गरी करीब रु पाँच लाख मूल्यबराबरको सरसमान लगेको पीडित यादवले बताए ।

कुटपिटबाट घाइते दुवै जनाको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा भर्ना गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । लुटपाट गर्ने व्यक्तिको तीव्ररुपमा खोजी जारी राखिएको नायब प्रहरी उपरीक्षक रिमालले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.