गम्भीर संक्रमितलाई नै छैन शय्या !

| 2020 Nov 02 | 08:18 am 1735

काठमाडौं, कात्तिक १७ः गम्भीर प्रकृतिका कोरोना भाइरस संक्रमित अस्पतालमा सहजै शय्या नपाउँदा होम आइसोलेसनमा बस्न बाध्य भएका छन् । अस्पतालले सजिलैसँग शय्या उपलब्ध नगराउँदा गम्भीर प्रकृतिका संक्रमित ज्यान जोखिममा राखेर होम आइसोलेसनमा बस्न बाध्य भएका हुन् ।

गत बुधबार कोरोना परीक्षण गर्दा काठमाडौंको कीर्तिपुर बस्दै आएका ४१ वर्षीय कपिल बस्नेतको रिपोर्ट पोजेटिभ आयो । उनलाई अत्यधिक ज्वरो आयो । पखाला पनि लाग्यो । उनी आत्तिए । उनलाई अस्पताल लैजान खोजिए पनि परिवारका सदस्यले कतै पनि शय्या खाली नभएको जवाफ पाए ।

कपिलका भाइ सबिन बस्नेतले भने, दाइ धेरै बिरामी हुनुभयो, अस्पतालहरूमा धाएँ । तर धेरै अस्पतालले बेड खाली छैन भने । अनि नजिकैका चिकित्सकको सल्लाहमा दाइलाई औषधि खुवाएर घरमै राख्न बाध्य भयौं ।

आइतबार देशभर ३७ हजार ७ सय ६५ सक्रिय संक्रमितमध्ये ३० हजार ९ सय ८६ जना होम आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सबैभन्दा धेरै बाग्मती प्रदेशमा १७ हजार ८ सय ३४ जना होम आइसोलेसनमा छन् ।

प्रदेश १ मा ६ हजार ३ सय २२, प्रदेश २ मा १ हजार ७०, लुम्बिनी प्रदेशमा ३ हजार ६६, सुदूरपश्चिम प्रदेशमा ८ सय ६५, गण्डकी प्रदेशमा १ हजार ३ सय ५९ र कर्णाली प्रदेशमा ४ सय ७० जना होम आइसोलेसनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । राजधानी दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.