गभर्नर नियुक्तिका लागि सिफारिश समिति गठन

रिपोर्ट नेपाल | 2020 Mar 31 | 08:09 am 1735

काठमाडौं, चैत १८: सरकारले नेपाल राष्ट्र बैंकमा गभर्नर नियुक्तिका लागि सिफारिश समिति गठन गरेको छ । अर्थमन्त्री डा युवराज खतिवडाको संयोजकत्वमा गभर्नर सिफारिश गर्न आइतवार बसेको मन्त्रिपरिषद् बैंठकले समिति गठन गरेको हो ।

नेपाल राष्ट्र बैंक ऐन २०५८ अनुसार सिफारिश समितिको सिफारिशको आधारमा नेपाल सरकारले गभर्नर नियुक्त गर्छ ।

ऐनमा मन्त्रिपरिषद्ले गभर्नरको नियुक्तिका लागि अर्थमन्त्रीको अध्यक्षतामा तीन सदस्यीय समिति गठन गर्नुपर्ने व्यवस्था छ ।

सदस्यमा पूर्वगभर्नरहरू मध्येबाट एकजना सदस्य र आर्थिक, मौद्रिक, बैंकिङ, वित्तीय तथा वाणिज्य कानूनको क्षेत्रका एक प्रतिष्ठित व्यक्ति हुनुपर्ने कानूनी प्रावधान छ ।

अर्थ मन्त्रालयका अनुसार समितिमा पूर्व गभर्नरको तर्फबाट विजयनाथ भट्टराई र पूर्व अर्थसचिव कृष्णहरि बास्कोटालाई सदस्य बनाइएको छ ।

सरकारले गठन गरेको गभर्नर सिफारिश समितिले यथासक्दो छिटो तीन जनाको नाम सरकारसमक्ष पठाउने सहसचिव उत्तरकुमार खत्रीले बताए ।

सो समितिले गभर्नर नियुक्तिका लागि राष्ट्र बैंकको डेपुटी गभर्नर सहित तीन जनाको नाम मन्त्रिपरिषद् समक्ष सिफारिश गर्ने उनको भनाइ छ । आर्थिक अभियान दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.