चितवन, पुस ११ः पर्यटकीय गतिविधि नहुँदा देशकै प्रमुख पर्यटकीय स्थलका रूपमा रहेको सौराहा यस पटक सुस्ताएको छ । हात्ती दौड, हात्ती महोत्सवजस्ता कार्यक्रमले विगतमा जाडोको समयमा सौराहामा पर्यटक खचाखच थिए तर अहिले कुनै कार्यक्रम आयोजना नहुँदा चितवन आउने पर्यटक अन्यत्र जान थालेका छन् ।
यस पटक कुनै गतिविधि नहुँदा चितवन आउने सम्भावित पर्यटक देशकै अन्य ठाउँमा जान बाध्य भएको पर्यटनविज्ञ विश्व सुवेदीले बताए । सौराहा आसपासको मेघौलीमा हुने हात्तीपोलोजस्ता कार्यक्रम पनि नहुँदा त्यसको असर सौराहाको पर्यटन व्यवसायमा परेको उहाँको भनाइ छ ।
यस वर्ष सांस्कृतिक कार्यक्रमबाहेक अन्य कार्यक्रम आयोजना गर्न नसकिएको होटल सङ्घ सौराहाका अध्यक्ष दीपक भट्टराईले बताए । बर्सेनि सञ्चालन हुँदै आएको हात्ती दौड प्रतियोगिता पशु अधिकारकर्मीको विरोधपछि आयोजना गर्न नसकिएको उनले प्रस्ट पारे । यसबाहेक तत्काल कुनै कार्यक्रम सञ्चालनको तयारी नभएको उनले जानकारी दिए । “हात्तीका गतिविधिमा रोक लगाएपछि अन्य रचनात्मक काम पनि गर्न सकिएको छैन,” उनले भने । विगतमा क्रिसमसलाई समेत लक्षित गरेर विभिन्न कार्यक्रम आयोजना हुने गरेकामा यस पटक धेरै गतिविधि नहुँदा सौराहामा पर्यटकको चहलपहल कम भएको उनले बताए।
सौराहाका होटल व्यवसायी दामोदर रेग्मी सौराहामा नयाँ गतिविधि नहुँदा हरेक वर्ष पर्यटक घट्दै गएको बताउछन् । चितवनबाहेक अन्य क्षेत्रमा पर्यटकीय चहलपहल पनि बढ्न थालेकाले त्यसतर्फ पर्यटक आकर्षित हुन थालेको उनको भनाइ छ । अहिले पनि सौराहामा परम्परागत कार्यक्रमले मात्र पर्यटक धानेको उनले बताए । सौराहाका पर्यटन व्यवसायीले नयाँ कार्यक्रम नल्याए पर्यटन क्षेत्रमा सुधार नहुने सरोकारवालाको बुझाइ छ ।
पर्यटक कम हुन थालेपछि सङ्घले भने सौराहा केन्द्रित पर्यटकीय गतिविधिमा जोड दिने निधो गरेको छ । सङ्घका महासचिव गुणराज थपलियाका अनुसार जनवरीपछि ‘घुमौँ सौराहा’ कार्यक्रमको योजना बनेको छ । सौराहाका राम्रा पक्षको देशव्यापी प्रचार गर्ने योजना सङ्घको छ । यसबाट पर्यटकीय गतिविधि बढ्ने थपलियाको विश्वास छ । सौराहा आउने पर्यटकले यहाँका वन्यजन्तुको अवलोकन, थारू संस्कृतिसँग जोडिएका विभिन्न गतिविधि हेर्न सक्छन् । गाेरखापत्र अनलाइनबाट