गण्डकी प्रदेशसभामा स्वतन्त्र उम्मेदवार दीपक मनाङे निर्विरोध

रिपोर्ट नेपाल | 2022 Oct 12 | 02:27 pm 1413

गण्डकी प्रदेश, असोज २६ः मनाङ प्रदेश ‘ख’ का स्वतन्त्र उम्मेदवार राजिव गुरुङ ‘दीपक मनाङे’ निर्विरोध भएका छन् । स्वतन्त्र उम्मेदवार दोर्जे लामा गुरुङले आफ्नो उम्मेदवारी बुधबार फिर्ता लिएपछि मनाङे निर्विरोध भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मनाङे हाल गण्डकी प्रदेश युवा तथा खेलकुद मन्त्री हुन् ।

दोर्जेले बुधबार १० बजेपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आएर आफ्नो उम्मेदवारी फिर्ता लिएको मुख्य निर्वाचन अधिकृत उत्तम सिलवालले बताए ।

उनले उम्मेदवार राजीव गुरुङको अब एकल उम्मेदवारी रहने भएपछि निर्विरोध भन्न मिल्ने र दिउँसो १ बजेपछिमात्रै औपचारिक जानकारी दिने बताए । मनाङ प्रदेश ‘ख’ मा नेकपा एमाले र नेपाली कांग्रेस दुवैले उम्मेदवारी दिएको छैन ।

राजीवले मनाङ प्रदेश ‘ख’ मा एमालेका समर्थनमा स्वतन्त्र उम्मेदवार बनेको बताउँदै आएका छन् । उनले २०७४ को निर्वाचनमा एमालेकै समर्थनमा जितेको र अहिले पनि एमाले समर्थनमै उम्मेदवारी दिएको बताउँदै आएका छन् ।

नेकपा एमाले मनाङका सचिव एवं मनाङ प्रदेश ‘क’ का उम्मेदवार राजनबहादुर गुरुङले दोर्जे लामा गुरुङलाई आफ्नो उम्मेदवारी फिर्ता लिन आग्रह गरेपछि उनले उम्मेदवारी फिर्ता लिएको र राजीव गुरुङ निर्विरोध भएको बताए ।

नेपाली कांग्रेस मनाङ सचिव सुरेन्द्र गुरुङले राजीव गुरुङलाई सत्ता गठबन्धनले समर्थन गरेकाले सो क्षेत्रमा गठबन्धनका तर्फबाट उम्मेदवारी नदिएको बताए ।

एमाले समर्थनमा स्वतन्त्र उम्मेदवारी दिएका राजीवले २०७४ को निर्वाचनमा कांग्रेसका कर्म गुरुङलाई हराएर मनाङ प्रदेश ‘ख’ बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.