गठबन्धनमा दल थपिँदै, नेता व्यवस्थापनको चुनौती बढ्दै

| 2023 Mar 12 | 07:47 am 1545

काठमाडौं, फागुन २८ः साना दलहरू थपिँदै गएपछि नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) नेतृत्वको सत्तारुढ गठबन्धनमा नेता व्यवस्थापनको चुनौती बढ्दै गएको छ । राष्ट्रपतिको उम्मेदवार चयनसँगै एमालेसहितको सात दलीय गठबन्धन भत्काएर बनेको नेपाली कांग्रेससहितको आठ दलीय गठबन्धनमा नेता व्यवस्थापनको चुनौती थपिँदै गएको हो ।

सत्ता गठबन्धनमा पछिल्लो समय बाबुराम भट्टराईले नेतृत्व गरेको नेकपा समाजवादी पार्टी (नेसपा) र प्रभु साह नेतृत्वको आम आदमी पार्टीसमेत सामेल भएका छन् । प्रधानमन्त्रीनिवास बालुवाटारमा उपराष्ट्रपतिको उम्मेदवार चयन गर्न शनिबार बसेको बैठकमा साह नेतृत्वको आम आदमी पार्टी पनि सहभागी भएको हो । योसँगै गठबन्धनमा संसदीय र संसद् बाहिरका गरी १० दल पुगेका छन् ।

बाबुराम भट्टराईको नेसपा संसद्मा छैन । उता राष्ट्रिय स्वतन्त्र पार्टीले समेत राष्ट्रपतिमा गठबन्धनका साझा उम्मेदवार कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई मतदान गरेर सरकारमा सहभागी हुने संकेत गरेको छ । गठबन्धनले जसपालाई उपराष्ट्रपतिको उम्मेदवारी दिने निर्णय गरेको थियो । तर, गठबन्धन भित्रबाट तीन जना उम्मेदवार बनेका छन् । यसले गठबन्धनमा भागबण्डाको किचलो शुरू भएको जनाउ गरेको छ । गठबन्धनको शनिबारको बैठकले समेत उपराष्ट्रपतिमा जसपाका उम्मेदवारलाई सघाउने गरी गठबन्धनको बैठकले निर्णय गरेको नेताहरूले दाबी गरेका छन् ।

उपराष्ट्रपतिमा जसपाबाट आफूलाई साझा उम्मेदवार बनाउने निर्णयअनुसार उम्मेदवारी दर्ता गराएको बताउँदै जसपा संसदीय दलका नेता रामसहायप्रसाद यादवले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘गठबन्धनका दलहरूबीचको छलफल र सहमतिअनुसार पहिला नै मेरो उम्मेदवारी हुने भन्ने सहमति भएको थियो । त्यहीअनुसार पार्टीले निर्णय गरेर पठाएको हो, साथै प्रस्तावक र समर्थकमा समेत गठबन्धनका नेताहरू रहेकाले मेरै उम्मेदवारी कायम हुन्छ । उपराष्ट्रपतिमा सबैले सहयोग गर्नुहुन्छ ।’ तर, उक्त दलबाट प्रमिलाकुमारी यादवको समेत उम्मेदवारी परेको छ । निर्वाचन आयोगले पुरुषलाई उम्मेदवार बनाउन नसकिने भनेपछि पार्टीले उहाँलाई पनि उम्मेदवार बनाएकाले एक जनाको उममेदवारी फिर्ता गर्न सकिने जसपाका नेताहरूले बताएका छन् ।

गठबन्धन आबद्ध दलले जसपालाई नै सहयोग गर्ने सहमति गरेको नेताहरूले बताए पनि सत्ता गठबन्धनमा आबद्ध जनमत पार्टीको तर्फबाट ममता झाले उम्मेदवारी दर्ता गराएका छन् । उम्मेदवारीपछि सञ्चारकर्मीसँग कुरा गर्दै जनमत पार्टीका अध्यक्ष सिके राउतले सत्तारुढ दलहरूबीच साझा उम्मेदवारमा सहमति गर्ने सहमति नभएको खण्डमा आफ्नो पार्टीले चैत ३ गते हुने उपराष्ट्रपतिको निर्वाचनमा मित्रवत् प्रतिस्पर्धा गर्ने बताए । उनले सत्तारुढ दलहरूबीच शनिबार बिहान बसेको बैठकमा भएको सहमतिअनुसार नै गठबन्धनबाट तीन जनाको उम्मेदवार दर्ता भएको दाबी गर्दै उम्मेदवारी फिर्ता नगर्ने बताए । उनले उपराष्ट्रपतिको उम्मेदवार साझा बनाउने विषयमा सहमति नभए पनि गठबन्धन नफुट्ने बताए । नेपाल समाचारपत्रबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.