मनाङ, फागुन १७ : प्रत्येक वर्ष मनाङका स्थानीयबासीहरु मंसिर लागेपछि जाडो छल्नका लागि जिल्ला बाहिरिने र बाली लगाउने समय भएपछि पुनः गृहजिल्ला फर्किने गर्दछन् । यस वर्ष पनि मनाङवासी गाउँ फर्कने समय भएको तर अहिलेसम्मको हिमपातले गर्दा स्थानीयहरु अहिलेसम्म जिल्ला फर्कनसकेका छैनन् ।
वर्षमा एक सिजन मात्र खेतीपाती हुने यस ठाउँमा खेतीपातीको सिजन शुरु भए पनि हाल सम्मको हिमपातले गर्दा जिल्ला जान सकेका छैनन् । हिमपातले सर्वसाधारण, केटाकेटी, कर्मचारी, किसान पशुचौपया खेतीपाती सबै प्रभावित भएको चामे गाउँपालिकाका उपाध्यक्ष मुनिन्द्रजङ्ग गुरुङले बताए ।
मंसिरमा खेतीपाती थन्काएर जाडो छल्न जिल्ला बाहिर रहेका मानिस जिल्ला भित्रिएर आफ्नो व्यवसाय र खेतीपाती धमाधम शुरु हुने बेलासम्म गाउँघर सुनसान रहेको अध्यक्ष गुरुङले बताए । अन्यत्र जानेहरुमा कोहीले पहिले नै जिल्ला छाडे, कोही हिमपात पर्न थालेपछि जिल्ला बाहिरेका उउले बताए ।
अब त सिजन शुरु भयो भनी आवश्यक सामान लिएर आएका मनाङ्गेहरु भारी हिमपातका कारण लमजुङ बेँशीसहरमा नै रोकिएका छन् ।
उनीहरु गाउँ जाने भनेर हिँडेको तीन पटक भयो अझै गाउँ फर्कन सकिएको छैन, पर्यटन व्यवसायी संघ मनाङका अध्यक्ष विनोद गुरुङले जानकारी दिए । उनका अनुसार पर्यटकको सिजन शुरुसँगै विदेशी तथा आन्तरिक पर्यटकले खचाखच हुने बेलामा हिमपातले सखाप बनाएको छ । गाउँभरी मानिस खेतीपाती र आफ्नो व्यवसायमा व्यस्त हुने अवस्थामा गाउँघर नै सुनसान भएको छ बताए
मनाङका जिल्लाका चार गाउँपालिकामध्ये मनाङ ङिस्याङ र नार्पाभूमि गाउँपालिका सुनसान भएको छ । लामो समयसम्म निरन्तर परेको हिमपातले थारैथोरै भएका मानिस पनि जिल्ला बाहिरेका प्रमुख जिल्ला अधिकारी रुद्रनाथ देवकोटाले बताए ।
प्रजिअ देवकोटाका अनुसार जिल्लामा भएका कर्मचारी पनि हिउँ पर्नथालेपछि बिदा लिएर झर्नथालेका छन् । कहिले हिमपात रोकिएला र सहज होला भनेर बस्न बाध्य भएको छ ।
त्यस्तै नार्पा भूमि गाउँपाकिाका कर्मचारी गाउँपालिकामा बस्न नसकेर सदरमुकाम चामेबाट नै गाउँपालिकाको कामकाज गरिरहेका छन् भने मनाङ ङिस्याङ गाउँपालिका कर्मचारी विहीन नै भएको छ । गाउँपालिकाका लेखापाल कृष्णराज तिमल्सिनाले बताए ।