खिम्ती आयोजनाको स्वामित्व हस्तान्तरणमा ढिलाइ

रिपोर्ट नेपाल | 2021 Aug 24 | 08:03 am 1977

काठमाडाैं, भदाै ८ः ६० मेगावाटको खिम्ती जलविद्युत् आयोजनाको एक वर्षअगावै हुनुपर्ने स्वामित्व हस्तान्तरण अहिलेसम्म हुन सकेको छैन। नेपाल विद्युत् प्राधिकरणले कोभिड–१९ महामारीको बहानामा स्वामित्व हस्तान्तरण नगरेको आरोप लागेको छ। प्राधिकरणले समयमै आवश्यक पहलकदमी नगर्दा लामो समय बित्दासमेत आयोजनाको स्वामित्व हस्तान्तरण हुन नसकेको बताइन्छ।

प्राधिकरण र नर्वेजियन कम्पनीबीच भएको विद्युत् खरिदबिक्री सम्झौता अनुसार व्यावसायिक उत्पादन भएको २० वर्षपछि आयोजनाको ५० प्रतिशत स्वामित्व प्राधिकरण मातहत आउनुपथ्र्यो। सम्झौता अनुसार २०७७ असारमा तोकिएको समय पूरा भइसकेको छ। यो आयोजनासँग डलरमा पिपिए गरेकाले मनग्ये नाफा आर्जन गर्ने, तर प्राधिकरण घाटामा जाने समस्या थियो।

यो आयोजनाले वार्षिक ५ अर्ब ८० करोड रूपैयाँ आम्दानी गर्थ्र्यो भने प्राधिकरणले वार्षिक करिब दुई अर्ब जति नोक्सानी बेहोर्दै आएको थियो। वैदेशिक लगानीमा बनेको खिम्ती आयोजनाबाट उत्पादन हुने ६० मेगावाट बिजुली खरिद गर्न प्राधिकरण र प्रवद्र्धक कम्पनीबीच ९ मंसिर २०५१ मा सम्झौता भएको थियो। सुरुमा यो आयोजनासँग ५.२ सेन्टमा प्रतियुनिट बिजुली किन्ने गरी पिपिए गरिएको थियो।

पछि आयोजनाको मूल्य समायोजन हुँदा प्रतियुनिट ५.९ सेन्ट (सरदर प्रतियुनिट २१ रूपैयाँ) पर्न आउथ्यो। सम्झौतामा उत्पादन सुरु भएको २० वर्षपछि आधा स्वामित्व प्राधिकरणमा आउने उल्लेख थियो। महालेखापरीक्षक कार्यालयको ५८औं वार्षिक प्रतिवेदनले पनि तोकिएको समयमा आयोजनाको स्वामित्व हस्तान्तरण नभएको औंल्याएको छ।

‘उक्त कम्पनीले २०५७ असारदेखि व्यापारिक उत्पादन सुरु गरेकाले सम्झौता अनुसार ५० प्रतिशत स्वामित्व नेपाल विद्युत् प्राधिकरणमा प्राप्त गर्नुपर्नेमा सो हुन सकेको छैन,’ प्रतिवेदनमा भनिएको छ, ‘आयोजनाको ५० प्रतिशत स्वामित्व हस्तान्तरणका लागि प्राधिकरण र प्रवद्र्धक कम्पनी दुवैको स्वामित्व रहने गरी छुट्टै कम्पनी स्थापना गर्नुपर्ने, हाल उक्त कम्पनी बनिनसकेको, नयाँ कम्पनीले पुन विद्युत् बिक्रीका लागि विद्युत् खरिदबिक्री सम्झौता गर्नुपर्ने जस्ता प्रक्रिया पूरा नभएको कारण जनाई स्वामित्व हस्तान्तरणमा ढिलाइ गरेको देखिन्छ।’

खिम्तीबाट प्रतिघन्टा ३५० मिलियन किलोवाट विद्युत् उत्पादन हुने देखिन्छ। कम्पनीको सबैभन्दा ठूलो हिस्सेदार नर्वेजियन कम्पनीले २०७७ असार २७ मा संस्थाको ५० प्रतिशत स्वामित्व हस्तान्तरणबाट प्राप्त मुनाफा नर्वेजियन क्रोनर ११९ मिलियन हिसाबमा लेखांकन गरिसकेको छ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले खिम्ती जलविद्युत् आयोजनाको स्वामित्व हस्तान्तरणको वार्ताकै क्रममा कोभिड–१९ महामारी फैलिएकोले काम हुन नसकेको बताए। ‘खिम्तीको स्वामित्व हस्तान्तरणको लागि वार्ता भइरहेकै बेला कोभिड–१९ को पहिलो लहर देखापर्‍यो,’ उनले भने, ‘महामारीको कारण देखाउँदै उनीहरू अहिलेसम्म नआएकाले स्वामित्व हस्तान्तरण हुन सकेको छैन।’  नागरिक दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.