डडेल्धुरा, माघ १२ः खानेपानीको माग गर्दै डडेल्धुराको सदरमुकामस्थित अमरगढी नगरपालिका आइतबार घेराउ गरिएको छ । सदरमुकामस्थित अमरगढी नगरपालिका–८ का स्थानीय खानेपानीको माग गर्दै आन्दोलित भएका हुन् । सदरमुकामसँगै जोडिएका खनमडा, टाँटर, डकले बजार, तोली सिंलगा, रातागौंन र लटाउलीलगायतका बस्तीमा खानेपानीको चरम अभाव भएको भन्दै सयौंको संख्यामा आएका स्थानीयले पटकपटक खानेपानी योजना माग गर्दा पनि अमरगढी नगरपालिकाबाट समस्या समाधानका लागि कुनै पहल नभएको गुनासो गरेका छन् ।
स्थानीय महिलाको समेत उल्लेख्य सहभागिता रहेको आन्दोलनमा सहभागीले अमरगढी नगरपालिकाले बजार क्षेत्रसँगै जोडिएका बस्तीमा खानेपानीको व्यवस्था गर्न पटकपटक माग गर्दा पनि सुनवाइ नगरेकाले नगरपालिका कार्यालय घेराउ गरिएको बताए ।
‘धेरै दुःख पाइयो, हामीलाई पानी चाहियो, स्थानीय सरकार मुर्दावाद, भ्रष्टाचार बन्द गर, हाम्रो जीवन रक्षा गर’जस्ता चर्का नाराबाजी गरेर प्रदर्शनमा उत्रिएका स्थानीयले कार्यालय घेराउ गरेपछि केहीबेर कार्यालयको सेवा अवरुद्ध भएको छ ।
नाराजुलुससहित गाउँबाट आएका उनीहरुले अमरगढी नगरपालिका कार्यालय घेराउ गरेपश्चात् सदरमुकाममा प्रदर्शनसमेत गरेका छन् ।
अमरगढी नगरपालिकाका नगरप्रमुख विश्वेश्वरप्रसाद ओझाको आफ्नै वडा भएर पनि नगर नेतृत्वले समस्या समाधानका लागि कुनै किसिमको पहल नगरेको आन्दोलनको नेतृत्व गरिरहेका स्थानीय अगुवा जगत ऐरले बताए । अमरगढी नगरपालिकाको दमकल कतिखेर आउला र खानेपानी भरौंला भनेर दिनभर कुर्नुपर्ने अवस्था छ’, स्थानीय महिला नेतृ बिस्ना गैरालले भने– ‘सदरमुकामसँगै जोडिएका तीन सयभन्दा बढी घरधुरी खानेपानी अभावमा काकाकुल छौं, तर खानेपानी समस्या समाधानका लागि तीनओटै तहका सरकारले माग सम्बोधन नगर्दा बाध्य भएर आन्दोलनमा उत्रिएका हौं ।’
नगरपालिका कार्यालय घेराउपछि आन्दोलनकारीले सात दिनभित्र माग सम्बोधनका लागि अल्टिमेटम दिँदै अमरगढी नगरपालिकालाई ज्ञापनपत्र बुझाएको अमरगढी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत हेमन्त पन्तले जानकारी दिए। नेपाल समाचारपत्रबाट