कोरोना सङ्क्रमणबाट पूरै ठीक भए पनि तर मानसिक तनाव

रिपोर्ट नेपाल | 2021 Jun 11 | 07:17 am 2257

काठमाडौँ, जेठ २८ः “अहिले कोरोना सङ्क्रमणबाट पूरै ठीक भए तर मानसिक तनावबाट मुक्त हुन सकेको छैन । राति निद्रा लाग्दैन । नकारात्मक सोचाइ बढी आउँछ । कसैसँग बोल्न मन लाग्दैन । रुन मन लाग्छ । एक्लै बस्दा कसैले मार्न आएको जस्तो लाग्छ” कोरोना सङ्क्रमणबाट भर्खरै मुक्त भएकी भक्तपुरकी ५५ वर्षीया एक महिलाको यो भनाइ हो । सङ्क्रमित भएर एकान्तबासमा रहँदा नकारात्मक सोच आउने गरेको, मृत्युका समाचारले मनमा डर पैदा गर्ने गरेको र तनाव उत्पन्न हुने गरेको अनुभव उनको छ ।

सङ्क्रमणबाट मुक्त भएका धेरैको अनुभव पनि दुरुस्त छ । कोरोना सङ्क्रमणले शारीरिकसँगै मानसिक स्वास्थ्यलाई समेत असर गर्ने विज्ञहरू बताउँछन् । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक तथा मानसिक रोग विशेषज्ञ डा. रवि शाक्यले भने, “कोरोना सङ्क्रमित भई संस्थागत तथा होम आइसोलेसनमा रहेका अधिकांश व्यक्तिमा यो समस्या देखिने गरेको छ ।”

उनले एकान्तबासमा रहँदा शारीरिक स्वास्थ्यको ख्याल गरे पनि मानसिक स्वास्थ्यका बारेमा ध्यान नदिँदा यस्तो समस्या आउने गरेको बताउँदै कोरोना सङ्क्रमण मानिसको डरसँग जोडिएको रोग बन्न पुगेको र सङ्क्रमित वा अस्पताल भर्ना हुँदैमा केही हुन्छ कि भन्ने डरले मानसिक समस्या निम्त्याइरहेको बताए ।

उनले एकान्तबास बसेका र सघन कक्षमा उपचारपछि निको भएका व्यक्तिमा मानसिक समस्या देखिएको जानकारी दिए । यसलाई चिकित्सकीय भाषामा पोस्ट ट्रम्याटिक स्ट्रेस डिसअर्डर (पीटीएसडी) भनिने गरिन्छ ।

कोरोना महामारी नियन्त्रणका लागि गत वर्ष गरिएको बन्दाबन्दीमा पनि केहीमा एन्जाइटी, डिप्रेसनजस्ता मानसिक समस्या देखिएको छ । “धेरै मानिस मरेको, सङ्क्रमित भएको समाचार सामाजिक सञ्जालमा बढी आउँछन् । यस्तो नकारात्मक समाचारले मानिसमा एन्जाइटी विकास भइरहेको छ,” डा. शाक्यले भने ।

उनका अनुसार कोरोना सङ्क्रमणपछि धेरैमा ‘एन्जाइटी’ देखिएको छ । यो आत्तिने रोग हो । एन्जाइटीमा श्वास फेर्न गाह्रो हुने, चिटचिट पसिना आउने, कसैलाई घाँटीमा केही अड्किएको जस्तो लाग्ने, खसखस हुने, छटपटाहट भइरहने, हात काम्ने, मर्छु जस्तो लाग्ने, बेहोस हुन्छु कि जस्तो लाग्ने, नकारात्मक सोच आउने लक्षण देखिन्छ ।

मानसिक रोग विशेषज्ञ डा. तृष्णा घोषले कोरोना सङ्क्रमित भएर एकान्तबास बसेका वा अस्पतालमा भर्ना भएर निको भइसकेका वा आफन्त गुमाएका व्यक्तिमा यस्तो समस्या देखिने गरेको बताइन् ।

यस्ता लक्षणलाई बेवास्ता गर्न नहुने कुरामा जोड दिँदै उनले कुनै व्यक्तिमा मानसिक समस्या देखिने बित्तिकै चिकित्सकको परामर्श लिन सुझाव दिइन् ।

उनले कोरोनासम्बन्धी नकारात्मक समाचार हेर्न वा पढ्न कम गर्ने वा नहेर्ने र नपढ्ने, समाचार पढे पनि आधिकारिक समाचार संस्थाहरूको मात्र पढ्ने, अफवाह फैलाउने समाचारलाई बेवास्ता गर्ने र साथीभाइ तथा परिवारसँग रमाइलो गर्न सुझाव दिइन् । गाेरखापत्र दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.