एजेन्सीः चीनमा थप एक चिकित्सकको मृत्यु भएको छ । कोरोना भाइरस विरुद्धको लडाईमा अग्रपंक्तिमा रहेर बिरामीको उपचारमा निरन्तर १८ दिनदेखि खटिइ रहेकी चिकित्सकको मृत्यु भएको चिनियाँ सञ्चार संस्था सिन्हवाले जनाएको छ।
५१ बर्षीया छु हुई नान्झियांग मेडिकल कलेजकि उप–प्रमुख थिइन् । उनी कोरोना भाइरसबाट संक्रमित बिरामीहरूको उपचार गर्ने टोलीको सह प्रमुखका रुपमा काम गरिरहेकि थिइन्।
लगातार १८ दिनसम्म बिरामीको उपचारमा खटिरहेकी उनको ‘अचानक’ मृत्यु भएको हो। नान्झियांग अस्पतालले एक विज्ञप्ति जारी गर्दै छु हुई सबै चिकित्सकका लागि एक उदाहरणीय नेतृत्व भएको उल्लेख गरेको छ। आफ्नो ख्याल नगरी बिरामीको उपचार मा खटिएकि उनी ‘रोल मोडेल’ डाक्टर रहेको अस्पतालले जनाएको छ।
घातक यस भाइरसबाट बिरामीको उपचारमा खटिएका चिकित्सकै समेत ज्यान जाने गरेको छ। घातक भाइरस विरुद्धको लडाइमा चीनले अहिलेसम्म ८ जना चिकित्सक गुमाएको छ। उक्त भाइरसका कारण मृत्यु हुनेको संख्या बिहिबारसम्म १३ सय १० पुगेको छ । ६० हजार मानिस संक्रमित भएका छन्।