कोरियन भाषा परीक्षामा पास भएकाको आजदेखि स्वास्थ्य परीक्षण

रिपोर्ट नेपाल | 2018 Aug 20 | 09:46 am 1922

काठमाडौं, भदौ ४: कोरिया भाषा परीक्षामा पास हुनेको स्वास्थ्य परीक्षण सोमबारदेखि हुँदैछ। काठमाडौंका चार अस्पतालबाट स्वास्थ्य परीक्षणको व्यवस्था मिलाइएको ईपीएस कोरिया शाखाले जनाएको छ।

पाटन अस्पताल, शुक्रराज ट्रपिकल अस्पताल, निजामती अस्पताल र नेपाल कोरिया मैत्री अस्पतालमा स्वास्थ्य परीक्षण गर्ने तयारी पूरा भएको छ।

सन् २०१९ का लागि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत दक्षिण कोरिया जान लिइएको कोरियाली भाषा परीक्षामा उतीर्ण हुनेहरुको स्वास्थ्य परीक्षण हुन लागेको हो।

ईपीएस कोरिया शाखाका निर्देशक कृष्णप्रसाद खनालका अनुसार यी अस्पतालबाट हरेक दिन एक हजार जनाको दरले स्वास्थ्य परीक्षण हुनेछ।

स्वास्थ्य परीक्षणमा सफल भएका र प्रहरी रिपोर्ट आएकाले भदौ ८ गतेदेखि रोजगार आवेदन फारम भर्न पाउने छन्। आवेदनका लागि पाँच डलर अर्थात ५५० रुपैयाँ एनआईसी एसिया बैंकमा जम्मा गर्नुपर्छ।

सन् २०१९ मा ईपीएसमार्फत दक्षिण कोरिया जान सात हजार ९ सय ९६ जना भाषा परीक्षा उतीर्ण भएका छन्। यसैबीच दक्षिण कोरियाका लागि सन् २०१८ को कम्प्युटरमा आधारित प्रणाली (सीबीटी) को दोस्रो परीक्षा भदौ ८ गतदेखि सञ्चालन हुने भएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.