काठमाडौँ, जेठ १३ः कोरोना (कोभिड–१९) नियन्त्रणका सामग्री आयातमा सरकारले सहजीकरण गरी भन्सार प्रक्रिया सरल बनाएको छ । त्यस्ता सामग्रीको आयातमा अब लामो प्रक्रियागत झन्झट व्यहोर्नुपर्ने छैन । त्यस्ता सामान आयातका लागि शीघ्र भन्सार प्रक्रियाको कार्यविधि तर्जुमा गरी कार्यान्वयनमा ल्याएपछि अब आपूर्ति सहज हुने भएको हो ।
भन्सार विभागका महानिर्देशक यमलाल भुसालले कोभिड–१९ को नियन्त्रण तथा उपचारलाई प्रमुख प्राथमिकतामा राखी आवश्यक माल वस्तुको आयातमा ‘शीघ्र भन्सार प्रक्रिया’ सुरु भएको जानकारी दिए । त्यसका लागि कोभिड–१९ को रोकथाम र उपचारसँग सम्बन्धित माल वस्तुको शीघ्र जाँचपास कार्यविधि, २०७८ जारी गरी कार्यान्वयनमा ल्याइएको उनको भनाइ छ । भन्सार ऐन, २०६४ को दफा ९३ बमोजिम सो कार्यविधि निर्माण गरी लागू गरिएको उनले स्पष्ट पारे ।
नयाँ प्रक्रियामार्फत मालवस्तु आयात गर्दा भन्सार जाँचपासको समयमा अन्य वस्तुको आयातकर्तासँगै पालो कुर्न नपर्ने र सुरुमै पालो पाइने छ । यसअघि सरकारले कोभिड–१९ को उपचारसँग सम्बन्धित माल वस्तुको पैठारीमा महसुल छुट दिने निर्णय गरिसकेको छ ।
यस कार्यविधिअनुसार कोभिड–१९ को नियन्त्रण तथा उपचारका लागि अत्यावश्यक मानिएका मेडिकल ग्रेड अक्सिजन, अक्सिजन सिलिन्डर, अक्सिजन कन्सन्ट्रेटर, अक्सिजन ट्याङ्क, आईसीयू शय्या, रेमडिसिभिर, माक्स, अक्सिजनसँग सम्बन्धित विभिन्न उपकरणलगायत विभिन्न २१ वटा अत्यावश्यक मालवस्तुको आयात ‘शीघ्र भन्सार प्रक्रिया’ मार्फत ल्याउन सकिने भुसालले जानकारी दिए । गाेरखापत्र दैनिकबाट