कैलालीको इकाइमा भण्डारीको दाबी

रिपोर्ट नेपाल | 2018 Dec 04 | 09:35 am 4761

काठमाडौं, मंसिर १८ : नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघको महाधिवेशन नजिकिएसँगै जिल्लामा विद्यार्थी नेताहरु सक्रिय भएका छन्।

सुदूरपश्‍चिमकै अग्रणी शैक्षिक संस्था कैलाली बहुमुखी क्‍याम्पसमा अहिले चुनावी सरगर्मी बढेको छ। विद्यार्थी नेताहरुले क्याम्पसमा चुनावी माहोल तताइरहेका छन्। क्याम्पसको इकाइ सभापतिमा विद्यार्थी नेता पुष्पराज भण्डारीले दाबी गरेका छन्।

स्‍नातक तहदेखि नै नेविसंघको राजनीतिमा सक्रिय भण्डारी हाल अर्थशास्त्रमा स्‍नातकोत्तर गरिरहेका छन्। विद्यार्थीमाझ परिचित भण्डारीले जिल्लादेखि केन्द्रसम्म छोटो समयमा राम्रो पहुँच स्थापित गर्न सफल भएका छन्।

क्‍याम्पसमा एफएम रेडियो ल्याउनेदेखि पुस्तकालय निर्माण र अन्य शैक्षिक वातावरण सुधारमा विशेष भूमिका खेलेका भण्‍डारीले क्याम्पसको चौतर्फी शैक्षिक गुणस्तर र प्राविधिक शिक्षामा जोड दिनुपर्ने बताउँछन्।

कैलाली बहुमुखीबाट नेविसंघको इकाइ सभापतिको लागि आफूलार्इ सबै विद्यार्थीको साथ र सहयोगले थप हौसला मिलेको भण्डारीले बताए। पदको लागि आफू कहिल्यै अघि नसरेको दाबी गर्दै भण्डारीले भने, ‘विद्यार्थी साथिहरुको दबाबमा नै मैलै इकाइ सभापतिमा लड्‍ने सोंच बनाएको हो। उहाँहरुले आगामी दिनमा पनि यस्तै सहयोग गर्ने विश्वास लिएको छु।

सामाजिक काममा समेत निकै सक्रिय भण्डारीले युवा पुस्ताले अभ्यास गरिरहेको विद्यार्थी राजनीतिमा अस्वस्थ प्रतिस्पर्धा बढ्दै गएकोले यसमा सुधार गर्नुपर्ने तर्क गर्छन। उनी भन्छन, ‘ मिसन र भिजनलार्इ सफल पार्न पदभन्दा पात्र र पात्रभन्दा प्रवृति राम्रो हुनुपर्छ। अहिलेको अस्वस्थ राजनीतिक प्रतिस्पर्धालार्इ त्याग्‍नुपर्छ।’

पार्टीको जिल्ला सभापति नरनारायण शाह ‘मनु’ विश्‍वासपात्र मानिने भण्डारी कैलाली क्षेत्र नम्बर पाँचकी उम्मेदवार आरजु राणा निकट मानिन्छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.