केन्द्रीय सरकारका विभिन्न मन्त्रालयमा ७ हजार कर्मचारीको दरबन्दी रिक्त

| 2019 Aug 28 | 08:02 am 1622

काठमाडौं, भदाै ११: केन्द्रीय सरकारका विभिन्न मन्त्रालय तथा निकायमा लामो समयदेखि झन्डै ७ हजार कर्मचारीको दरबन्दी रिक्त रहेको छ । केन्द्रीय सरकारमै त्यति धेरै कर्मचारी अभाव हुँदा पनि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पदपूर्ति प्रक्रिया भने थाल्न सकेको छैन । कर्मचारी अभाव हुँदा नीति निर्माण तहदेखि सेवा प्रवाहसम्ममा समेत गम्भीर समस्या परिरहेको अधिकारीहरूले बताएका छन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार हाल केन्द्रीय सरकारमा खरिदारदेखि सहसचिवसम्मका विभिन्न सेवा समूहमा गरी ७ हजार पद रिक्त रहेका छन् । जसअनुसार नीतिगत तहमा महत्वपूर्ण भूमिकामा रहने सहसचिवमा मात्रै १ सय ६३ पद रिक्त छ । यसैगरी ३ सयको संख्यामा उपसचिव र ६ सयको संख्यामा शाखा अधिकृत पद रिक्त रहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार खरिदार, सुब्बालगायतका राजपत्र अनंकित गरी विभिन्न पदमा झन्डै ६ हजार कर्मचारी रिक्त अवस्थामा छन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भने छिट्टै पदपूर्ति थालिने बताएको छ । सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले केन्द्रीय निकायमा रिक्त कर्मचारीको पदपूर्ति प्रक्रिया छिट्टै थालिने जानकारी दिए । केन्द्रका सबै रिक्त पदमा विज्ञापन माग्ने गरी आवश्यक गृहकार्य अघि बढाइएको मन्त्री पण्डितले बताए ।

मन्त्रालयले रिक्त रहेका पदसम्बन्धी विवरण सम्बन्धित मन्त्रालयसँग माग गरिसकिएको र विवरण संकलन भइरहेको जानकारी दिएको छ । यसका लागि आवश्यक परेमा ओ एन्ड एम सर्वेक्षणसमेत गर्ने तयारी मन्त्रालयको छ ।

हाल प्रदेश र स्थानीय तहमा समेत कर्मचारी अभाव हुँदा केन्द्रीय सरकारबाटै कर्मचारी पठाउनुपर्ने अवस्था छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहमा कर्मचारी अभाव हुन नदिन आवश्यकताअनुसार कर्मचारी पठाइने बताएको छ । प्रदेशका मन्त्रालयका सचिव र स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृतमा केन्द्रकै कर्मचारी राखिँदै आइएको छ ।

केन्द्रीय सरकारले प्रदेशमा लोकसेवा आयोग गठन भइनसकेकाले स्थानीय तहको पदपूर्ति प्रक्रिया केन्द्रीय लोकसेवा आयोगमार्फत नै जारी राखेको छ । तर, संघमा आवश्यक पर्ने कर्मचारीको पदपूर्तिमा भने केन्द्रीय सरकारले बेवास्ता गरेको भन्दै केन्द्रीय निकायमा कार्यरत कर्मचारीहरू रुष्ट रहँदै आएका छन् । आजकाे राजधानी दैनिबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.