कृत्रिम अभाव गराएर मास्कको मूल्यवृद्धि

| 2021 Apr 27 | 08:29 am 1857

काठमाडौँ बैशाख १४: बजारमा मास्क, स्यानिटाइजरलगायत सर्जिकल सामानको कृत्रिम अभाव गराएर अस्वाभाविक मूल्यवृद्धि हुन थालेको छ । पछिल्लो दुई दिनमै बजारमा मास्कको मूल्य ह्वात्तै बढेको छ । यसअघि प्रतिपिस होलसेल मूल्य ३ रुपैयाँमा पाइने मेडिकल मास्क अहिले बढेर ५ रुपैयाँसम्म पुगेको छ । कोभिडको संक्रमण बढ्दै गएपछि बजारमा मास्कको खपत बढ्दै गएका कारण व्यवसायीले अभाव देखाएर मूल्य बढाउन थालेको आजको कारोबार दैनिकमा लक्ष्मी सापकोटाले समाचार लेखेकी छिन।

बुद्धनगरस्थित बीएन सप्लायर्सका सञ्चालक नारायण न्यौपानेले बजारमा मास्कको अभाव भएकाले मूल्य बढ्न गएको बताए । यसअघि प्रतिप्याकेट १५० रुपैयाँ पर्ने मेडिकल मास्कको मूल्य अहिले १८० रुपैयाँ पुगेको उनको भनाइ छ । होलसेल मूल्य ३ देखि ४ रुपैयाँमा पर्ने मेडिकल मास्कको खुद्रा मूल्य प्रतिपिस १० रुपैयाँ पर्छ । कोभिड संक्रमणबाट जोगिनका लागि मास्क अनिवार्य रुपमा लगाउनुपर्ने भएकाले पनि बजारमा यसको खपत बढ्दै गएको छ ।

अघिल्लो वर्ष पनि मास्क अभाव भएर प्रतिपिस ३० रुपैयाँसम्म पुगेको थियो ।मुलुकमा पर्याप्त मात्रामा मास्क उत्पादन भए पनि अभाव देखाएर व्यवसायीले मूल्य बढाएका हुन् । मुलुकमै उत्पादन भए पनि अभाव हुन सक्ने भन्दै उपभोक्ताले खरिद गरेर राख्न थालेपछि अभाव हुन थालेको व्यवसायीको भनाइ छ । न्युरोडका व्यापारी सञ्जय पोखरेलले मास्कको मूल्य बढेर आएकाले प्रतिप्याकेट २ सय ५० रुपैयाँ बिक्री गरिएको जानकारी दिए ।

वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागका प्रवक्ता शिवराज सेढाईंले निषेधाज्ञाको बेला बजारमा हुन सक्ने कृत्रिम अभाव तथा कालोबजारी नियन्त्रण गर्न अनुगमनलाई तिव्रता दिने बताए । मास्क, स्यानिटाइजर, खाद्यान्नलगायत वस्तुमा अस्वाभाविक मूल्य वृद्धि गर्ने व्यवसायीलाई कारबाही गरिने उनले जानकारी दिए । विभागले नियमित रुपमा बजार अनुगमन गरिरहेकाले उपभोक्ता ठगी गर्ने व्यवसायीलाई कारबाही गरिने उनको भनाइ छ ।

यसैबीच, उपभोक्ताले अत्यावश्यक वस्तु खरिद गरेर स्टक गर्न थालेका छन् । बजारमा अभाव हुन सक्ने भन्दै उपभोक्ताले चामल, दाल, चिनी, तेल, खाना पकाउने ग्यास तथा सर्जिकल सामान खरिद गरेर राख्न थालेका हुन् । सरकारले सोमबार साँझ बिहीबारदेखि एक साता निषेधाज्ञा लागू गर्ने घोषणा गरेसँगै उपत्यकाका खाद्य तथा किराना पसलमा सामान खरिद गर्ने ग्राहकको घुइँचो लागेको थियो । सरकारले अत्यावश्यक वस्तुको मौज्दात पर्याप्त रहेकाले अभाव नहुने दावी गरे पनि उपभोक्ताले भने अभाव हुन सक्ने भन्दै धमाधम खरिद गर्न लागेका छन्

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.