दाङ, कात्तिक ३०ः :चुनावी मैदानमा उत्रेका उम्मेदवारबीच दौडधुप छ। मतदाताको घरदैलोमा पुग्न भ्याइनभ्याइ छ। तर, उम्मेदवारहरूले दाङका वनराजाका रूपमा रहेका कुसुन्डाहरूलाई वास्तै गर्दैनन्। उनीहरूको घरदैलोमा भोट माग्न पनि जाँदैनन्।
कुसुन्डा आदिवासी जनजातिमा सूचीकृत छन्। दाङ जिल्लाको क्षेत्र नं १ र २ मा रहेका कुसुन्डाको घरदैलोमा हालसम्म उम्मेदवारहरू गएका छैनन्। लमही नगरपालिका–६ कुलमोहर र घोराही उपमहानगरपालिकाका विभिन्न वडामा गरेर झन्डै १ सय जना कुसुन्डा बसोबास गर्दै आएका छन्।
‘हामीलाई हेर्ने दृष्टिकोण नै फरक छ। यहाँ कुनै पनि उम्मेदवार भोट माग्न कहिल्यै आउँदैनन्,’ घरमै भेटिएका धनबहादुर ‘वनराजा’ कुसुन्डाले भने, ‘हाम्रो जनसंख्या थोरै छ। त्यहीँ भएर हेपेका होलान् नि ! जब एउटै भोटले पनि उत्तानो पर्छन्। त्यतिबेला सम्झन्छन्। प्रतिस्पर्धीलाई कहिल्यै कमजोर सम्झनु हुँदैन।’ आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा उम्मेदवारहरू भोट माग्न नआएकामा उनले दुःखेसो पोखे।
२०४८ सालको जनगणनाअनुसार, २ सय ६४ जना कुसुन्डा थिए। २०५८ सालमा जनसंख्या घटेको केन्द्रीय तथ्यांक विभागले जनाएको छ। २०५८ सालको जनगणनाअनुसार, कुसुन्डाको जनसंख्या १ सय ६४ थियो। २०६८ सालको राष्ट्रिय जनगणनाअनुसार, नेपालमा कुसुन्डा जातिको जनसंख्या २ सय ७३ छ। जसमध्ये दाङ जिल्लामा ९८ जना छन्। ५० जना महिला र ४८ जना पुरुष भएको केन्द्रीय तथ्यांक विभागले जनाएको छ।
२०३५/०३६ सालयता मात्र कुसुन्डा जंगलीबाट सामाजिक जीवनमा प्रवेश गरेका हुन्। पुस्तौंदेखि समाजमा दबिएर बसेका कुसुन्डालाई हेप्ने प्रवृत्ति कायमै छ। ऐलानी जग्गामा बस्ने कुसुन्डा समुदायले थर बताउँदा शीरदेखि पाउसम्म हेर्ने गरेको कुसुन्डाहरू बताउँछन्। फिरन्ते आदिवासी जनजातिभित्र पर्ने कुसुन्डा थर सुन्नेबित्तिकै कतिपय अनौठो मान्छन्। ईश्वरी ‘वनरानी’ कुसुन्डा भन्छिन्, ‘बिरामी भएर अस्पताल जाँदाखेरी पर्चा काट्ने बेला हाम्रो थर सुनेर ट्वाल्ल पर्छन्।’ विगतमा कुसुन्डाहरू जंगलमा घुमन्ते जीवन बिताउँथे। तर, पछिल्लो दुई पुस्तादेखि गाउँघरमा बस्न थालेका छन्। पढाइ, लेखाइ नगरेका कतिपय कुसुन्डाहरू बेरोजगारीबाट त्राण पाउन कामको खोजीमा भारत र खाडीमुलुक जाने गरेका छन्। ‘कतार गएको थिएँ। बिरामी भएपछि एक महिनामै फर्किएँ,’ जुद्ध वनराजा कुसुन्डा भन्छन्, ‘ऋण लागेको डेढ लाख तिर्न एक वर्ष लाग्यो।’ अन्नपूर्ण पाेस्ट दैनिकबाट