किर्तिपुरको बीच सडकमै पासो, एक जनाको ज्‍यान गयो

| 2018 Oct 27 | 09:18 am 1704

काठमाडौं, कार्तिक १० : भन्दा अचम्‍म लाग्‍न सक्छ, काठमाडौं अधिकांश बाटाहरुमा पासो थापिएका छन्। अनेक सपना बोकेर राजधानी काठमाडौं आएका व्यक्तिले हिड्ने सडकमै थापिएका पासोमा परेर ज्यान गुमाउनु पर्ने बाध्यता छ। कुन व्यक्ति कति खेर कुन पासोमा पर्छ भन्‍ने मात्रै हो। त्यसै पासोमा परी फेरि आज एक जनाले ज्यान गुमाएका छन्।

काठमाडौंको कीर्तिपुरमा ल्याबोरेटरी स्कुल दक्षिणपट्टीको बल्खु आउने बाटोको बीचमा भएको ढलमा परेर शनिबार बिहान एक जना साइकल यात्रीको ज्यान गएको छ। ज्यान गुमाउने अन्दाजी ३५–४० वर्षका पुरुषको रहेका छन्। उनको परिचय खुलेको छैन ।

सडक छेउमा खुल्ला रहेको ढलको खाल्डोमा ती यात्री साइकलसहित खसेका थिए । स्थानीयबासिन्दाले मानिस ढलमा परेको जानकारी दिएपछि गएको प्रहरीले उनलाई ढलबाट निकालेको थियो। उनी कतिखेर ढलमा खसेका हुन भन्ने खुलेको छैन ।

 

पटक–पटक स्थानीय नागरिकले सडकमा खुला रुपमा रहेको ढल व्यवस्थापन गर्न आग्रह गर्दै आए पनि सरोकारवाला निकायले वेवास्ता गर्दै आएका छन्। सडकमै रहेको ढलमा ढक्कन नलगाउँदा पासो थापेझैँ भएको स्थानीयले आरोप लगाएका छन् ।

यसअघि पनि काठमाडौंका काठमाडौंको नेपालटार र सामाखुसीमा दुई जना स्कुले बालिकाको सडकमा रहेको अव्यवस्थित ढलमा परेर ज्यान गुमाएकी थिइन्।

तस्बिर स्रोत : सुनिल रञ्‍जन सिंह

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.