किमसँगकाे दाेस्राे भेट अाउँदाे जनवरी वा फेब्रुअरीमा हुनेछ : ट्रम्प

रिपोर्ट नेपाल | 2018 Dec 02 | 02:32 pm 2276

वासिङ्टन, मंसिर १६:  अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाका नेता किम जोङ अनसँग चाँडै नै भेट हुन सक्ने बताएका छन् । सन् २०१९ को जनवरी वा फेब्रुअरीमा दुई देशका शीर्ष नेताको दोस्रो शिखर बैठक हुन सक्ने ट्रम्पले शनिबार बताएका हुन् ।

अर्जेन्टिनामा भएको औद्योगिक राष्ट्रको समूह (जी–२०) बैठकबाट स्वदेश फर्कने क्रममा विमानभित्रै पत्रकारहरुसँग कुरा गर्दै उनले गत जुनमा सिङ्गापुरमा किमसँग भएको शिखर बैठकको निरन्तरताका लागि अर्को बैठकको तयारी भइरहेको जानकारी दिए ।

“शिखर बैठकका लागि तीनवटा सम्भावित ठाउँका बारेमा प्रारम्भिक छलफल भएको छ, तर टुङ्गो लागेको छैन,” राष्ट्रपति ट्रम्पले भनेका छन् । गत जुनमा सिंगापुरमा भएको ट्रम्प र किमको पहिलो ऐतिहासिक बैठकपछि कोरियाली द्वीपमा आणविक निःशस्त्रीकरणका सन्दर्भमा केही कामहरु भएकाे उनले स्वीकारे ।

सिंगापुर बैठकका क्रममा व्यक्त प्रतिबद्धता बमोजिम उत्तर कोरियाले आणविक तथा व्यालेस्टिक क्षेप्यास्त्र कार्यक्रम त्याग्ने सङ्केत स्वरुप केही ठोस कार्य गरेको देखाएको छ । अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले नोभेम्बरको शुरुमै उत्तर कोरियाका वरिष्ट अधिकारीलाई भेट्ने कार्यक्रम तय भएको थियो । उत्तर कोरियाले पछिल्ला दिनहरुमा आफ्नो देशविरुद्ध लागेका प्रतिबन्धहरु फुकुवा हुनुपर्ने माग गरिआएको छ ।

शुक्रबार मात्र ट्रम्पले जी–२० सम्मेलनका क्रममा ब्युनस आयर्समा दक्षिण कोरियाली राष्ट्रपति मून जाइ–इनसँग पछिल्लो अवस्थाका बारेमा छलफल गरेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.